आन्ध्र प्रदेशको बाढीमा १७ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

आन्ध्र प्रदेशमा आएको अबिरल वर्षापछिको बाढीबाट कम्तिमा १७ जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएका छन् ।

वर्षापछि तीन तले घर भत्किँदा अनन्तपुर जिल्लाको कादिरी सहरमा एक वृद्धा र तीन बालबालिकाको पुरिएर मृत्यु भएको छ । घरभित्र फसेका चार जनाको उद्दार गरिएको छ ।

बाढीका कारण तिरुपती सहरमा हजारौं तीर्थयात्री फँसेका छन् । तिरमला पहाडको चुचुरोमा रहेको श्री भेनकटेस्वरा मन्दिरमा दर्शन गर्न हिँडेका सयौं तीर्थयात्री अलपत्र परेका छन् ।

सडक बगाउँदा यात्रु बोकेर तिरुपतीतर्फ जाँदै गरेका तीन ओटा बस बाटोमै फसेका छन् । बाढीले आन्ध्र प्रदेशका धेरै स्थानको सडक बगाएको छ । बाढीबाट सबैभन्दा बढी रायलासीमा क्षेत्र प्रभावित भएको छ । त्यस्तै, बाढीका कारण चित्तोर, कादपा, कर्नुल र अनन्तपुर जिल्ला प्रभावित छन् ।

बिहीबारदेखि परेको वर्षाका कारण चेयुरु नदी बहाव बढेको छ । बाढी प्रभावितको उद्दारका लागि राष्ट्रिय र राज्य विपद् समूह परिचालन गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार