मुगुको गमगढी बजारमा भीषण आगलागी, २० घर जलेर नष्ट

एक घर भत्काइयो

मुगुको सदरमुकाम गमगढी बजारमा गए राति भीषण आगलागी भएको छ । आगलागीमा २० वटा घरटहरा जलेर नष्ट भएका छन् । आगो निभाउने क्रममा गोरख मल्लको एउटा कच्ची घर भत्काइएको छ ।

गएराति साढे १२ बजेतिरबाट खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी सुरु भएको थियो । सुरक्षाकर्मीहरुले स्थानीयको सहयोगमा बिहान साढे ४ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए ।

‘स्थानीय ठिन्ले लामाको घरमा बालेर राखेको दियोबाट आगो फैलिएको अनुमान गरिएको छ,’ उनले भने, ‘प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा पानी र माटो प्रयोग गरेर चार घन्टापछि आगो नियन्त्रणमा लिइएको छ।’

गमगढी बजारका घरहरु काठैकाठले बनेका र एकअर्कासँग जोडिएकाले आगो नियन्त्रणमा लिन कठिन भएको थियो ।

आगलागीमा मानवीय क्षति भएको छैन । धनमाल कति क्षति भयो भन्नेबारे पनि एकिन विवरण आइनसकेको डिएसपी भट्टराईले बताए । आगलागीमा मानवीय क्षति भने भएको छैन ।

आगलागीबाट घरबारबिहीन भएकाहरूलाई छिमेकीका घर र आफन्तकहाँ राखिएको छ । उनीहरूलाई राहत उपलब्ध गराउन दैवीप्रकोप उद्धार समितिको बैठक बसेको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार