विद्युतीय सवारी साधनको भन्सार अझै घटाइने

विद्युतीय सवारी साधानमा लाग्दै आएको भन्सार दर अझै घटाउने विषयमा ऊर्जा र अर्थ मन्त्रालयबीच छलफल सुरु भएको छ ।

हाल १०० किलोवाटसम्मका विद्युतीय सवारीमा १० प्रतिशत १०० देखि २०० किलोवाटसम्ममा १५ प्रतिशत, २०० देखि ३०० किलोवाटसम्म ३० प्रतिशत र ३०० किलोवाटभन्दा माथिका मोटर जोडिएका सवारीमा ४० प्रतिशत भन्सार दर लाग्दै आएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रजत महोत्सवका अवसरमा आयोजित समारोहमा ऊर्जामन्त्री पम्फा भुसालले नेपालमा डिजेल तथा पेट्रोलियम पदार्थको प्रयोग हटाउन विद्युतीय सवारी साधानको भन्सार दर थप घटाउने विषयमा छलफल गरेको बताएकी हुन् ।

उनले स्वदेशी विद्युत् खपत बढाउन, आयातीत इन्धनलाई कम गर्न र असन्तुलित व्यापार घटा न्यून गर्न विद्युत् ऊर्जालाई प्रमुख प्राथमिकता दिएको उल्लेख गरिन् । सिँचाइको अभावमा जमिन बाँझो राख्न नपरोस् भनेर सिँचाइका लागि प्रयोग हुने ऊर्जाको महसुल घटाइएको र आगामी दिनमा यसलाई निःशुल्क गरिने नीति सरकारको रहेको बताउँदै मन्त्री भुसालले यसबाट मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर गर्न सकिने विश्वास व्यक्त गरिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार