खडेरीले सुके पानीका मुहान, विकल्प खोज्दै स्थानीय

बागलुङमा खडेरीले जतासुकै मूल सुकेका छन् । खानेपानीको आपूर्तिमा समस्या देखिएपछि बागलुङ नगर खानेपानी उपभोक्ता संस्था पनि प्रभावित बनेको छ ।

१९ किलोमिटर टाढाको रेशखोलाबाट ल्याइएको पानीको मात्रा घटेको छ । त्यस्तै भुँदीखोलाबाट ल्याएको पानीको मात्रा पनि घटेको छ। मात्रा घटेपछि बजारबासीलाई पानीको अभाव भएको छ ।

विकल्पको रुपमा निर्माण भइरहेको कैलामपोखरी लिफ्ट आयोजनाले अझै पूर्णता पाउन सकेको छैन । पानी सुक्दै गएकाले वितरणमा समस्या आएपछि संस्थाले आन्तरिक गृहकार्य गरेर वैकल्पिक उपाय खोजेको छ ।

उक्त विकल्पअनुसार बजारमा पानी वितरणका लागि संस्थाले कैलामपोखरीबाट चार इन्चको पाइपमा रात्माटाको ट्याङ्कीमा पानी खसाल्ने काम भइरहेको छ । यो पानी आजदेखि उपभोक्तालाई वितरण गरिने संस्थाका अध्यक्ष केवी रानमगरले बताए ।

पानी अभाव हुन थालेपछि समस्या भएको छ । तित्याङको रिठेखोलाबाट आएको पानीसमेत सुकेपछि वितरणमा सास्ती भएको भन्दै समितिले विकल्पको रुपमा पाइप विच्छ्याएर रात्माटा पुर्याएको छ । आजदेखि पानी वितरणमा केही सहज हुने अध्यक्ष रानमगरको भनाइ छ । पानी अभाव भएपछि बजारबासी गलुवाखोला, सहश्रधारा लगायतका स्थानमा पुगेर खानेपानी ल्याउन थालेका छन् ।

बागलुङ बजारमा पानी सहजरुपमा वितरण गर्न सकिएको छैन। ठेकेदार कम्पनीले योजना हस्तान्तरण गर्न सकेको छैन । ‘हाल अस्थायी रुपमा पानी खुवाउन प्रयास गरिएको हो’, उनले भने । काठेखोलाबाट पानी सङ्कलन गरी हाल निर्माण भएका ट्याङ्कीबाट बजारमा वितरण गर्ने योजना छ ।

विसं २०३२ मा पहिलो पटक बागलुङमा तित्याङको रिठेखोलाबाट खानेपानी ल्याइएको थियो । सो आयोजनाअन्तर्गत १३ सार्वजनिक धारा बनेका थिए । तत्कालीन राजा वीरेन्द्र शाहले उक्त आयोजनाको उद्घाटन गरेका थिए ।

बागलुङ बजारमा अहिले चार हजारबढी धारा निर्माण गरिएका छन् । तर अधिकांश धारामा खडेरीको समयमा पानी आउँदैन। उपभोक्ता समितिको ३० प्रतिशत र सङ्घीय सरकारको ७० प्रतिशत लगानीमा २०७३ सालमा थालिएको आयोजना अझै हस्तान्तरण भएको छैन । पाइपमा समस्या आएपछि लिफ्टमार्फत पानी आपूर्ति हुन सकेको थिएन ।

‘पाइपमा समस्या आएपछि खानेपानी वितरण गर्न ढिला भएको हो’, संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले भने। गत वर्षातमा फाइप फुटेर थप समस्या भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार