ओलीको पालामा सुरु भएको सुनकोशी–मरिण डाइभर्सनको सुरुङ प्रचण्डले गरे ‘ब्रेक थ्रु’

सिन्धुलीमा निर्माणाधिन बहुचर्चित सुनकोशी-मरिण डाइभर्सन अन्तर्गत सुरुङ खन्ने कामको आज ‘ब्रेक थ्रु’ भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी गाउँपालिका–७ कानढुंग्रीमा बाँकी रहेको केही सेन्टिमिटर सुरुङ खनेर आज ‘ब्रेक थ्रु’ गरेका हुन् । कार्यक्रमका लागि प्रधानमन्त्री प्रचण्ड हिजै सिन्धुलीमा गएर बसेका थिए । प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिंचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरे ।

‘बागमती प्रदेशको सिन्धुली जिल्लास्थित आयोजनाले मधेश प्रदेशको ५ जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिंचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत् उत्पादन हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आज सुरूङको ‘ब्रेक थ्रु’ भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।’

कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुंग्रीसम्म रहने सुनकोशी-मरिण डाइभर्सनको सुरुङ मार्ग १३ दशमलव तीन किलोमिटर लामो छ । त्यसमध्ये आज केही सेन्टीमिटर मात्रै खनेर ‘ब्रेक थ्रु’ गरिएको हो ।

आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेसिन सुनकोसी र तामाकोसीको संगमस्थलभन्दा ९ सय मिटर तल कानढुंग्रीबाट बाहिर निकालिएपछि सुरुङ निर्माण कार्यको ‘ब्रेक थ्रु’ भएको छ ।

राष्ट्रिय गौरवको यो आयोजनको सुरुङ खन्ने कामको लागि २२ महिनाको लक्ष्य निर्धारण गरिएको थियो ।

लक्ष्यभन्दा तीन महिना दुई दिनअगावै चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले सुरुङ निर्माण कार्य सकेपछि ‘ब्रेक थ्रु’ गर्न लागिएको हो । ०७९ असोज २८ बाट सुरुङ खन्न सुरु गरिएको थियो । यस अवधिमा एकै दिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनाले जनाएको छ ।

०७७ फागुन २० मा कमलामाई–२ को कसुमटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास गरेर आयोजना निर्माणको थालनी गरिएको थियो ।

उच्च प्रविधिबाट ५ दशमलव ५ डायमिटरको सुरुङमा पानी हाल्न सुनकोशी नदीमा ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको बाँध निर्माण हुनेछ । बाँध निर्माणको काम निरन्तर चलिरहेको छ ।

सुरुङमार्फत सुनकोशीको पानी सिन्धुलीको मरिणखोलामा प्रतिसेकेन्ड ६७ क्युसेकका दरले खसाल्ने योजना छ । जुन पानीबाट ३१ दशमलव ०७ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ ।

सुनकोशी नदीमा बाँध बाँधेर सुनकोशीको पानी सिन्धुलीको मरिणखोलामा खसालेपछि त्यसलाई बागमती नदीमा मिसाएर मधेस प्रदेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ गर्ने लक्ष्य आयोजनाको छ ।

हाल चालु अवस्थामा रहेको बागमती सिँचाइ आयोजनाकै पूर्वाधार प्रयोग गरेर मधेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा सिँचाई सुविधा पुर्याउने छ ।

यो आयोजनाबाट पाँच जिल्लाका एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुग्ने बताइएको छ । तर, यो आयोजना सञ्चालनमा आउँदा पनि सर्लाही, महोत्तरी, धनुषासहितका जिल्लाका चुरे भावर क्षेत्रमा सिँचाइको सम्भावना नहुने भन्दै त्यहाँका स्थानीयले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

सर्लाहीका सरोकारवालाले त पटक-पटक प्रधानमन्त्री, सिँचाइमन्त्री लगायतलाई भेटेर चुरे भावर क्षेत्रमा पनि यो आयोजनाबाट सिँचाइ हुनसक्नेगरी वैकल्पिक उपायको खोजी गर्न आग्रह गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार