चौथो दिन पनि सेयर बजार उकालोमा, कारोबार रकममा समेत सुधार

निरन्तर उकालो लागेको बजारले साताको चौथो दिन (बुधबार) पनि निरन्तरता पाएको छ । बुधबार बजार १८ अंकले बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७६९ अंकमा पुगेको छ । अघिल्लो सातासम्म घटेको सेयर बजार यो सातादेखि उकालो लाग्न सुरु गरेको छ ।

४ दिनमा बजार २१२ अंकले बढेको छ । ब्याजदरमा नेपाल राष्ट्र बैंकको लगाम, सेयरधितो कर्जामा केन्द्रीय बैंकले पुनरावलोकन गर्ने चर्चा, निर्वाचन आयोगद्धार चैत ५ गते स्थानीय तहको निर्वाचन गर्न सिफारिस, ब्रोकरहरुद्धारा सेयर कारोबारलाई सहज बनाउन थप धितोको व्यवस्थालगायतका कारणले सेयर बजारमा निरन्तर बढेको हो ।

बजार बढ्न थालेसँगै कारोबार रकममा समेत सूधार देखिएको छ । अघिल्लो साता दुईरतीन अर्बमा सिमित दैनिक कारोबार बुधबार भने ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८ सय ४० रुपैयाँको भयो । यो रकम मंगलबारको तुलनामा समेत बढेको छ ।

बुधबार कुल २२८ वटा कम्पनीको ७५ हजार ६ सय १२ वटा कारोबार भयो । यी कारोबारमा कुल १ करोड १५ लाख ९२ हजार २ सय ३५ कित्ता शेयर किनबेच भएको छ । बुधबार जीवन बीमा कम्पनी उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ ।

आज नबिल बैंकको सबैभन्दा बढी सेयर किनबेच भएको छ । नबिलको प्रतिकित्ता १६०६ मा ४३ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

नबिलले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बम्पर लाभांश दिने आशामा लगानीकर्ता नबिलमा झुम्मिएका हुन् । गत वर्ष नबिलले ३५ प्रतिशतल लाभांश दिएको थियो ।

आज वेस्ट फाइनान्सका लगानीकर्ताले कमाएका छन् । लगातार वेष्ट फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेका बेला बुधबार भने ८.६८ अंकले मात्र बढेको छ ।

एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेपछि सेयर मूल्य ७.२१ प्रतिशतले बढेको छ ।

बुधबार बैंकिङ, व्यापार, वित्त, निर्जीवन र जीवन बिमा, लघुवित्त, म्युचुअल फण्ड, लगानी र अन्य सूचक बढ्दा होटल एन्ड टुरिज्म, विकास बैंक, जलविद्युत र उत्पादन तथा प्रशोधन क्षेत्रको सेयर मूल्यमा गिरावट आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार