धनकुटामा पहिरोले घर पुरिँदा पाहुना गएका तीनसहित ६ जनाको ज्यान गयो

लगातारको वर्षाका कारण आएको पहिरोले घर पुरिँदा धनकुटाको चौबिसे गाउँपालिका–१ मा पर्ने बुधबारे बजारमा ६ जनाको ज्यान गएको छ ।

गए राति वर्षासँगै आएको पहिरोले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका ९ वर्षीय नाति विनोद श्रेष्ठ, पाँच वर्षीया नातिनी निर्जला श्रेष्ठ, पाहुना आएका दमक नगरपालिका–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दीपककुमार रायाले बताए । घटना ६ जना घाइते भएका छन् ।

डीएसपी रायाका अनुसार घाइतेमध्ये ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लिला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको छ । घाइतेलाई हेलिकोप्टरबाट उपचारको लैजान सेनासँग समन्वय भइरहेको डीएसपी रायाले बताए ।

त्यही वडाको सौरेबजारमा दिलीप गजमेरको घर पनि पहिरोले पूर्णरुपमा बगाएको छ । तर मानवीय क्षति भने नभएको चौबिसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताइन् । यता वर्षासँगै आएको बाढीले सडक बगाउँदा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । साँगुरीगढी गाउँपालिका–६, फेदीमा २ सय मिटर सडक लेउती खोलाले बगाउँदा हिजो मंगलबारदेखि नै सडक अवरुद्ध रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार