संसदीय छानबिन समिति कांग्रेसको बटमलाइन, रविपछि गगन बोल्ने र संसद् अवरुद्ध गर्ने

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति कांग्रेसको बटमलाइन भएकाले त्यसबाट पछि नहट्ने दलको बैठकले निर्णय गरेको जानकारी दिएका छन् ।

‘रवि लामिछानेबारे संसदीय छानबिन समितिको मागबारे औचित्य पुष्टि भइसकेको छ । अब यो माग कांग्रेसको मात्र नभएर नेपाली जनताकै भएको छ’, लेखकले भने, ‘यदि सरकार विपक्षको मागलाई सम्बोधन गर्न तयार भएन भने सदनका बैठक प्रभावित भएमा त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने निर्णय गरेको छ ।’

कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिइसकेपछि बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

दलीय प्रतिनिधित्वको आधारमा सभामुखले बोल्न दिएपछि नेपाली कांग्रेसको तर्फबाट रामहरि खतिवडाले बोल्नेछन् । उनले सहकारी छानबिन समितिको माग गर्ने र गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने धारणा राख्नेछन् । त्यसपछि सभामुखले रास्वपा सभापति समेत रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले बैठकमा धारणा राख्न समय दिनेछन् ।

रविको बोलीमा असहमति जनाउँदै कांग्रेस सांसदहरूले ढ्याप–ढ्याप गर्दै उठेर बोल्ने समय माग्नेछन् । सभामुखले बोल्न दिएपछि महामन्त्री गगन थापाले कांग्रेसको धारणा राख्नेछन् । त्यसपछि बैठक अवरुद्ध गर्ने कांग्रेसले तयारी गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार