एमाले सांसद श्रेष्ठले मागे सभामुखको राजीनामा

नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेका छन् ।

मंगलबार राष्ट्रियसभामा समय लिएर उनले सभामुखले दलहरुलाई समान व्यवहार नगरेको आरोप लगाउँदै राजीनामा माग गरेका हुन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसद श्रेष्ठले बैठक अवरुद्ध गर्ने क्रममा भने, ‘कुर्सीको गरिमा जोगाउनुपर्छ । तत्काल उहाँले एउटा निकास दिनुपर्छ भनेका छौं, त्यो भनेको राजीनामा हो ।’

गैर सांसदलाई सदनमा बस्न अनुमति सभामुखले दिएको भन्दै सडकदेखि सदनसम्म प्रश्न उठेको सांसद श्रेष्ठको भनाइ छ । ‘सडकदेखि सदनसम्म कुरा उठिरहेको छ, गैरसांसदहरूलाई सदनमा राखिएको छ । त्यो गर्दा सदनको संविधानको रक्षा भयो कि भएन ? संविधानले व्यवस्था गरेअनुरुप भयो कि भएन ?’

सभामुखले जसपा सांसद सरिता गिरी, माओवादी सांसदहरू लेखराज भट्ट, प्रभु साह, गैरिशंकर चौधरी र टोपबहादुर रायमाझीलाई कारबाही पत्र पाएलगत्तै कारबाही गर्ने तर एमालेका सांसद कारबाही परेको सूचना नटाँसेको भन्दै विभेद गरिएको श्रेष्ठको भनाइ थियो ।

सभामुखले राजीनामा नदिए वा सूचना नटाँसे सदन चल्न नसक्ने उनले बताए ।

राष्ट्रियसभामा प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयक (बजेट) पेश भएको छ । विधेयकमाथि बिचार गरियोस भन्ने प्रस्तावमाथिको छलफलमा अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्षले एमाले संसद श्रेष्ठलाई बोल्न समय दिएका थिए । त्यसपछि एमाले सांसद श्रेष्ठले एमालेले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको सूचना टाँस गरिनुपर्ने बताएका हुन् । विनियोजन विधेयक राष्ट्रिय सभामा पेस भएपछि बैठक स्थगित भएको छ । अर्को बैठक बिहिबार २ बजे बस्नेगरी स्थगित भएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार