आजदेखि नयाँ नोट साट्न पाइने, हेर्नुहोस् कहाँ पाइन्छ ?

नेपाल राष्ट्र बैंकले आजदेखि दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो ।

राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै बजारमा ३० देखि ३५ अर्ब बराबरको नयाँ नोट सटही गर्ने तयारी गरेको छ । वाणिज्य बैंकहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दशैंतिहार लक्षित सुकिला नोट पठाइएको छ । नोट काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र वाणिज्य बैंकका सबै शाखाहरूबाट उपलब्ध गराइनेछ ।

हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमण निकै घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ ।

५, १०, २०, ५० र १ सय रुपैयाँको नोटहरु एक एक गड्डीका दरले १८ हजार ५०० सम्म साट्न पाउने सुविधा बैंकले प्रदान गर्ने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार