सुदूरपश्चिममा एकीकृत समाजवादीबाट तामाङ र बोहरा बने मन्त्री

सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट दुईजना मन्त्री नियुक्त भएका छन् । शुक्रबार बेलुका मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका सांसद तारालामा तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले सपथ गराएका हुन् । यस्तै अर्थ राज्यमन्त्री नियुक्त भएकी माया तामाङ बोहरालाई मुख्यमन्त्री भट्टले सपथ खुवाएका छन्।

तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् । तामाङ तत्कालीन नेकपाका प्रमुख सचेतक समेत थिए । उनलाई एमालेको अनौपचारिक विभाजनका बेला गत जेठमा मन्त्रिपरिषद् विस्तार हुँदा पदबाट हटाइएको थियो । बोहरा एमाले विभाजनका बेला अध्यक्ष ओलीको पक्षमा खुले पनि २१ भदौमा एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा लागेकी थिइन् ।

पार्टी विभाजनपछि एमालेमै रहने निर्णय गरेका एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता प्रकाशबहादुर शाहले आर्थिक मामिला मन्त्रीबाट राजीनामा गरेपछि पद खाली थियो । राज्यमन्त्री अर्चना गहतराजले पनि पदबाट राजीनामा दिएकी थिइन् । प्रदेश सरकारलाई नेकपा एकीकृत समाजवादीका १४ र माओवादी केन्द्रका १३ सांसदको समर्थन छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार