आठ वर्षपछि आफ्नै ब्राण्डमा उड्यो गुण एयरलाइन्स

आफ्नै ब्राण्डमा फर्किएपछि गुण एयरलाइन्सले शुक्रबारबाट व्यवसायिक उडान सुरु गरेको छ । एयरलाइन्सले भरतपुर र पोखरामा उडान गरेको छ ।

एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण श्रेष्ठले पहिलो उडान उत्साहजन भएको बताएका छन् । टिकट खुला गरेको छोटो समयमै यात्रुहरु भरिभराउ भएको बताउँदै अवको केही दिनभित्र उडान संख्या थप गर्ने जानकारी दिए ।

एयरलाइन्सले बुधबारबाट टिकट खुला गरेको थियो । शुक्रबार भएको उडान बिचक्राफ्ट जहाजमार्फत गरिएको थियो भने केही दिनपछि देखि भने जेटस्ट्रिममार्फत गर्ने तयारी भइरहेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ ।

८ वर्षअघि गुण एयरलाइन्समा गाभिएर सिम्रिक एयरलाइन्समार्फत उडान गरेको थियो । व्यावसायिक पार्टनर क्याप्टेन रामेश्वर थापासहितको समूहबाट गुण ग्रुपका अध्यक्ष राजेन्द्र शाक्यले एयरलाइन्सलाई एक स्वामित्वमा लिएपछि गुणमार्फत नै उडान सुरु गरेको हो ।

शाक्यले ५ वटा जेटस्ट्रिम जहाज खरिद गरेका छन् । यसअघि दुइटा बिचक्राफ्टमार्फत मात्र उडान गर्दै आएको थियो । अहिले काठमाडौंबाट सुगमका गन्तव्यमा यात्रु बोक्न बुद्ध, यति, श्री, सौर्य एयरलाइन्सले प्रतिस्पर्धा गरिरहेका छन् । यसमा अब गुण एयरलाइन्स समेत थपिएको छ ।

गुण एयरलाइन्सका प्रवक्ता एवं बजार तथा बिक्री प्रमुख प्रज्वल थापाका अनुसार कम्पनीले छिट्टै सिमरा, भैरहवा, तुम्लिङटार, जनकपुर, नेपालगञ्ज, सुर्खेत र विराटनगरमा उडान विस्तार गर्नेछ । यसले यात्रुलाई नजिकिएको चाडबाडमा हवाई टिकट प्राप्तिमा विकल्प दिने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार