व्यवसायीले मागे दैनिक ४० किलो सुनको कोटा

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको आपूर्ति बढाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । बुधबार महासङ्घका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको टोलीले राष्ट्र बैंकका अधिकारीहरुलाई भेट्दै आपूर्ति व्यवस्था बढाउन माग गरेका हुन् ।

गत चैतमा १० किलोको कोटालाई २० किलो पुर्याएको राष्ट्र बैंकलाई उनीहरुले यो पनि अपुग भएको भन्दै बढाउन माग गरेका हुन् । महासङ्घका अनुसार चाडवाडको समयमा दैनिक ३५ देखि ४० किलोसम्म र अन्य सामान्य समयमा दैनिक २५ देखि ३० किलो सुनको माग रहेको छ ।

अध्यक्ष शाक्यले सुनको सहज आपूर्ति व्यवस्था मिलाइनुपर्ने, क्षेत्रगत रूपमा विभिन्न नौवटा नाकाबाट कच्चा सुन वितरणको व्यवस्था मिलाइनुपर्ने, सुनचाँदी व्यवसायीले सबै बैंकका खाता खोल्नुपर्ने बाध्यात्मक व्यवस्था हटाई एकल खाता प्रणालीमा जानुपर्ने माग राखेका छन् ।

यस्तै सुन आयातमा बैंकको एकाधिकार तोडी निजी क्षेत्रलाई पनि सहभागी गराइनुपर्ने, गोल्ड एक्सचेन्ज स्थापनाका लागि पहल गर्नुपर्ने, कोरोना प्रभावित सुनचाँदी व्यवसायीलाई पुनर्कर्जाको व्यवस्था मिलाइनुपर्ने, चाँदीको आयातलाई व्यवस्थित बनाइनुपर्ने लगायतका माग राखेको महासङ्घका महासचिव धर्मसुन्दर वज्राचार्यले जानकारी दिए ।

पछिल्लो समयमा दैनिक २० किलोका दरले कच्चा सुन उपलब्ध गराउने व्यवस्थाले बजारको माग धान्न नसकेको महासङ्घले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार