भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल

तोडियो भारत सरकारको एकाधिकार

नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल नेपाल आइपुगेको छ ।

हिन्द टर्मिनल प्रालीको एक र्‍याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालय र भारतबीच निजी रेलले नेपालमा पनि सामान ढुवानी गर्न सक्ने सम्झौता गरेपछि पहिलो पटक निजी रेल सामान बोकेर नेपाल आएको हो ।

हल्दियबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

२०६१ सालमा भएको नेपाल–भारत रेल सेवा सम्झौताअनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपाललमा सेवा दिंदै आएको थियो । रेल सेवा सम्झौता पुनरावलोकन सम्झौतामा गत जुलाई २०२१ मा भएको दुई देश बीचको सहमतिपछि नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा सञ्चालन गर्न पाउने बाटो खुलेको थियो ।

संशोधित सम्झौताले भारतका निजी रेल सेवाप्रदायक र नेपाल रेलवे कम्पनीले ढुवानी गर्न सक्ने व्यवस्था गरेको छ । त्यसअघि भारतका कोलकाता, हल्दिया र विशाखापत्तनम् बन्दरगाहबाट हुने कन्टेनर र अन्य कार्गो ढुवानीमा कोन्करको एकाधिकार थियो ।

एकाधिकारका कारण रेल भाडामा मनोमानी देखिएको भन्दै व्यवसायीहरूले रेलसेवा सम्झौता संशोधनको माग गर्दै आएका थिए । भारतमा १५ ओटा निजी कम्पनीले रेलमार्फत ढुवानी सेवा दिइरहेका छन् । तीमध्ये कोन्करसहित अन्य चारओटा कम्पनीले नेपालतर्फको ढुवानीमा रुचि देखाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार