इजरायल रोजगारीका लागि लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक

रोजगारीका लागि इजरायल जाने श्रमिक छनौटका लागि लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

सोमबार लिइएको अंग्रेजी भाषाको लिखित परीक्षाको नतिजा वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको हो । लिखित परीक्षामा ६ हजार ३ सय १७ जना सहभागी भएकोमा २ हजार ३९ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण हुनेमा १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ जना पुरुष छन् ।

भाषा परीक्षामा उत्तीर्णलाई अब उचाइ र तौल परीक्षण तथा अन्तर्वार्तामा सहभागी गराइनेछ । अन्तर्वार्तामा सहभागी हुँदा आवेदन दिँदा पेश गरेका कागजातको सक्कल र प्रवेशपत्र लिएर एक घण्टाअगाडि नै उपस्थित हुनुपर्ने छनौट समितिले जनाएको छ ।

असोज १ गतेदेखि ३ गतेसम्म उचाइ र तौल परीक्षण हुनेछ । उचाइ र तौल परीक्षणमा उत्तीर्ण हुनेको असोज ४ गतेदेखि ९ गतेसम्म व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान भैंसेपाटीमा अन्तार्वार्ता हुनेछ ।

इजरायल जाने श्रमिकको तौल कम्तीमा ४५ किलो र उचाइ १.५ मिटर हुनुपर्नेछ । अन्तर्वार्ता र शारीरिक परीक्षणपछि विभागले १४ सय जना छनोट गरेर नेपालस्थित इजरायल दूतावासमा पठाउनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार