संकटमा प्रदेश १ सरकार: तानातानमा एमाले सांसद

नेकपा एमालेमा फुटसँगै प्रदेश १ को सरकार संकटमा परेको छ । प्रदेश १ मा शेरधन राईको नेतृत्वमा एमालेको बहुमतको सरकार छ । एमाले औपचारिक रूपमा फुट्ने निश्चितजस्तै भएपछि प्रदेश १ सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको थियो । प्रदेशसभामा अविश्वासको प्रस्ताव आउने डरले सरकारले हतारहतार अधिवेशन अन्त्य गरेको आरोप प्रतिपक्षी दलहरूले लगाउँदै आएका छन् ।

प्रदेशसभा १ मा प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकार ढल्ने निश्चित भएपछि केही दिन भए पनि सत्तामा रहन र कागजात मिलाएर भ्रष्टाचार ढाकछोप गर्न सरकारले हतारहतार प्रदेशसभाको अधिवेशन अन्त्य गरेको बताएका छन् । उनले प्रदेश १ मा दसैंअघि नै नयाँ सरकार गठन हुने ठोकुवा गरेका छन् । उनले भने, ‘मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार अब, धेरै दिन नटिक्ने निश्चित भएकाले दसैंअघि नै नयाँ सरकार गठन हुन्छ ।’ प्रमुख सचेतक कार्कीले प्रदेश १ मा संघमा जस्तै गठबन्धन दलहरूकै सरकार बन्ने दाबी गरे । उनले भने, ‘एमालेको सरकार ढलेपछि नयाँ सरकार कांग्रेससहितको गठबन्धनको बन्नेछ ।’

एमालेका नेताहरू भने तत्काल सरकार ढल्ने अवस्था नरहेको दाबी गर्छन् । प्रदेशसभा १ एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले तत्काल सरकार ढल्ने अवस्था नरहेको बताए । एमालेबाट अलग भएर माधवकुमार नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादीमा प्रदेश १ का पाँचजना सांसद पनि जाने अवस्था नरहेकाले तत्कालै प्रदेश १ को सरकार ढल्ने अवस्था नरहेको उनको भनाइ छ । तर, एमालेका पाँचजना मात्रै सांसद नेकपा एकीकृत समाजवादीतर्फ लागे भने पनि सरकार संकटमा पर्ने उनले बताए । राजभण्डारीले भने, ‘पार्टीमा सांसद तानातान भइरहेकाले कति सांसद कता लाग्छन् भन्ने निश्चित नभईकन सरकार रहन्छ वा रहँदैन भन्न सकिने अवस्था छैन ।’ यतिबेला धेरै सांसदलाई आफ्नो पक्षमा पार्न एमाले र नेकपा एकीकृत समाजवादीकाका नेताहरू सक्रिय छन् ।

प्रदेशसभामा कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी एकातर्फ छ भने अर्कोतर्फ नेकपा एमाले छ । प्रदेशसभामा नेकपा एमालेका ५२, नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । एमालेका ५२ सांसदमध्ये १५ जना आफ्नो पक्षमा आउने नेकपा एकीकृत समाजवादीका नेताहरूले बताउँदै आएका छन् ।

तर, एमालेका पाँचजनाभन्दा बढी सांसद नेकपा एकीकृत समाजवादीतर्फ लागे राई नेतृत्वको सरकार ढल्ने भएकाले सरकार पक्षका नेताहरू सबै सांसदलाई आफ्नै पक्षमा राख्न तल्लीन छन् । एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा कति सांसद जान्छन् भन्ने निश्चित भएपछि मात्रै नयाँ सरकार बन्ने भएकाले यसबारे औपचारिक रूपमा छलफल सुरु नभएको विपक्षी गठबन्धनका नेताहरूले बताएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार