काबुल विमानस्थलमा १२ जनाको मृत्यु

अफगानिस्तानको काबुल विमानस्थल र वरिपरि गरी १२ जनाको मृत्यु भएको छ । गत आइतबारदेखि बुधबारसम्म १२ जना अफगानको ज्यान गएको तालिबानले जनाएको छ ।

रोयटर्ससँगको कुराकानीमा तालिबानका एक अधिकारीले मृत्युको कारण खुलाउँदै गोली प्रहार र भगदौडमा किचिएको बताएका छन् । यात्रा गर्ने अधिकार नरहेको र बाहिरिने उपाय नरहेकालाई घर फर्किन जोड दिएको बताउँदै तालिबान अधिकारीले विमानस्थलमा रहेका कसैलाई तालिबानले दुखित बनाउन नचाहेको दाबी गरे ।

अफगानिस्तानबाट हजारौँ सर्वसाधारण बाहिरिने प्रयास गर्दा विमानस्थलमा भागदौड भएको थियो । अमेरिकी सेनाको नियन्त्रणमा रहेको विमानस्थलबाट बहिर्गमन व्यवस्थित बनाउन गोली समेत चलाइएको थियो ।

काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा रहेको छ । तर चारैतिर तालिबानको उपस्थिति बलियो देखिएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार सशस्त्र तालिबानले कागजात रहेका सर्वसाधारणलाई समेत विमानस्थल प्रवेशमा रोक लगाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार