भारतको हिमाचल प्रदेशमा गाडीमाथि पहिरो खस्दा ९ जनाको मृत्यु

उत्तर भारतको हिमाचल प्रदेशमा पर्यटकहरू सवार एउटा गाडीमा पहिरो खस्दा नौ जनाको मृत्यु भएको छ । आइतबार भएको उक्त घटनामा अन्य तीनजना घाइते भएका छन् ।

उक्त घटना किन्नौर जिल्लामा भएको हो । दिल्लीबाट हिमाचलको प्रसिद्ध चितकुल गाउँ घुम्न जान गएका मानिसहरू उक्त गाडीमा भएको भारतिय संचारमाध्यहरुले जनाएका छन् । घटनामा ज्यान गुमाउने ४ जना राजस्थान, २ जना छत्तीसगढ र एक–एक जना महाराष्ट्र र पश्चिम दिल्लीका रहेका छन् । एक मृतकको राज्य वा सहरको ठेगाना खुलेको छैन ।

घटनास्थलमा खिचिएको तथा सामाजिक सञ्जालमा प्रेषित भिडियोमा एउटा पहाडबाट पहिरो खसेको र ठूलाठूला ढुङ्गा एउटा पुलमा बजारिएको देखिन्छ ।

बटसेरी-साङ्गला मार्गमा अचानक पहाडमा विस्फोट भएको जस्तो सुनिएको अनि धूलो उडेको देखिएको बीबीसीले जनाएको छ । त्यसपछि तीव्र गतिमा ढुङ्गाहरू तल खस्न थालेका थिए । रोकेर राखिएका सवारीसाधनमा ठूला ढुङ्गाहरू बजारिएको अनि त्यसपछि पुल भत्किएको दृश्य ट्विटरमा प्रेषित भिडिओमा देखिन्छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेहरूको परिवारलाई राहत स्वरूप २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार