प्रतिनिधिसभामा कांग्रेसको नाराबाजीबीच अर्थमन्त्रीद्वारा आर्थिक सर्वेक्षण पेस

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसले नाराबाजी गरिरहेको छ । प्रतिनिधिसभाको वेलमा कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेका छन् । कांग्रेसको नाराबाजीबीच अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण पेस गरेका हुन् ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थाको वार्षिक स्थिति समीक्षा २०८१ पेस गरेका हुन् ।

सभामुख देवराज घिमिरेले अर्थमन्त्री पुनलाई रोस्ट्रममा आउन समय दिएपछि कांग्रेस सांसदहरूले रोकेका थिए । त्यसपछि सभामुखले ‘अर्थमन्त्रीलाई रोस्ट्रममा आउने व्यवस्था मिलाउन सांसदहरूलाई आग्रह’ गरेका थिए ।

त्यसपछि अर्थमन्त्रीको बाटो छेकिरहेका कांग्रेस सांसदहरूलाई सत्तारुढ एमाले, माओवादी र रास्वपाका सांसदहरूले धकेलेर बाटो खाली गरेका थिए ।

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै सभामुख देवराज घिमिरेले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्नका लागि समय दिएका थिए । शाहीले सहकारीको बचत अपचलनकर्ता उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने माग गरेका थिए ।

शाहीले बोलेपछि सभामुखले कार्यसूची अघि बढाएका थिए । बोल्ने समय नपाएर कार्यसूची अघि बढेपछि कांग्रेस सांसदहरू वेल घेराउमा उत्रिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार