‘चिनियाँ नागरिक हुँ’ भन्दै सुन तस्करी गर्ने सोनामसँग भेटियो नेपाली नागरिकता

सुनसहित पक्राउ परेका विदेशी नागरिक भनिएका व्यक्तिसँग नेपाली नागरिकताको प्रमाण भेटिएको छ । आफूलाई चिनियाँ नागरिक बताउने ३७ वर्षीय शेरब ग्याल्मो भन्ने सोनाम गुरूङको साथबाट प्रहरीले नेपाली नागरिकता फेला पारेको हो ।

उनको साथबाट सोनाम गुरूङको नाममा रहेको नेपाली नागरिकताको प्रमाण पत्र एक थान बरामद भएको नेपालको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । आफूलाई चिनियाँ नागरिक बताउने गुरूङले अवैधरूपमा सुन तस्करी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो अवैध सुनको थप अनुसन्धान गर्ने क्रममा गुरूङ पक्राउ परेको सीआईबीले जनाएको छ ।

उनले आफू चिनियाँ नागरिक रहेको भनेर प्रहरीलाई बताएका छन् । उनको कोठामा तलासी लिँदा प्रहरीले ६ किलो सुन र ४८ लाख नगद बरामद गरेको थियो । बरामद भएको सुनको आधिकारिक तौल परीक्षण गर्न बाँकी रहेको सिआइबीले जनाएको छ । प्रहरीले उनको कोठाबाट सोनाम गुरूङ नाममा रहेको नेपाली नागरिकता समेत बरामद गरेको छ ।

६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार