चाँगुनारायणमा खहरे मासेर सडक बनाउन थालेपछि स्थानीय आन्दोलित

चाँगुनारायण नगरपालिकामा बस्ती विकासको नाममा खहरे खोला, कुलो, खोल्सा मासेर सडक बनाउन थालेपछि स्थानीय आन्दोलित भएका छन् ।

चाँगुनारायण नगरपालिका वडा नं २ स्थित असल छिमेकी टोलमा बस्ती विकासको नाममा खहरे खोला, कुलो, खोल्सा मासेर ह्युम पाइप राखी सडक निर्माण थालेपछि स्थानीय आन्दोलित भएका हुन् ।

उनीहरुले नक्सामा १२ देखि १५ फिट रहेको खहरे खोला‚ कुलो, खोल्सा मासेर ह्युम पाइप राखेर सडक बनाउँदा बस्ती नै डुबानको चपेटामा परेको गुनासो पनि गरेका छन् ।

यस विषयमा जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउँदासमेत जबरजस्ती राति राति काम गर्ने गरेको आरोप पनि उनीहरुले लगाएका छन् । खोला, कुलो, खोल्सा मासेरसडक निर्माण गरेको विरोधमा स्थानीयमात्र नभई जनप्रतिनिधिहरुसमेत आन्दोलित भएका छन् ।

चाँगुनारायण नगरपालिका वडा नं २ का वडा सदस्य उमेश प्रधान र महिला सदस्य राधादेवी गैडाले आफूहरुको विरोधका बाबजुद पनि वडाध्यक्ष सोमप्रसाद प्रधानको एकलौटी निर्णयबाट जबरजस्ती काम भएको आरोप लगाए ।

नगरपालिका र वडाको योजनाअनुसार तीनवटा उपोभोक्ता समितिमार्फत काम भइरहेको जानकारी गराउँदै नियमविपरीत कुनै पनि काममा हस्ताक्षर नगर्ने भनी विरोध जनाउँदा तथा नगरपालिकाले रोक्न पत्र काट्दासमेत राति राति काम गरेको गुनासो उनीहरुले गरे ।

वडा सदस्यहरुले नियमविपरीत भएको काम नरोकिए अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायमा उजुरी हाल्ने चेतावनीसमेत दिएका छन् ।

वडा सदस्यद्वय प्रधान र गैडाले ह्युम पाइप निकालेर दाँया बाँया करिडोर निर्माण गर्नुपर्नेमा पनि जोड दिएका छन् । चाँगुनारायण नगरपालिकामा बस्ती विकासको नाममा खोला, कुलो, खोल्सा मासेर सडक बनाउने काम भने यो नै पहिलो होइन ।

यसअघि पनि नगरपालिकाभित्रका विभिन्न वडामा जबरजस्ती यस्ता काम हुँदै आएका छन् । यस विषयमा नगरवासीले बारम्बार ध्यानाकर्षण गराउँदा समेत जनप्रतिनिधिहरु र सम्बन्धित निकाय काममा तेल हालेर बस्ने गरेको स्थानीयको आरोप छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार