बससेवा डटकमले हरेक टिकटबापत एक रुपैयाँ नील हिरा समाजलाई दिने

नेपालको एकमात्र अनलाइन बससेवा भुक्तानी सेवा प्रदायक बससेवा डटकम र नील हिरा समाजबीच अनलाइनबाट बुकिङ भएका प्रत्येक टिकटबाट एक रुपैयाँ लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हितका लागि छुट्याउने सम्झौता भएको छ ।

सम्झौतापत्रमा नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकाल र बससेवा डटकमका तर्फबाट बजार व्यवस्थापक डेनिसजंंग थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौताबमोजिम बससेवा डटकमले कुनै पनि व्यक्तिले काटेको टिकटबाट नील हिरा समाजलाई एक रुपैयाँका दरले प्रदान गर्नेछ ।

कुनै पनि व्यक्तिले यात्रा गर्नुपरे आफ्नो मोबाइलबाट घरमै बसेर बससेवा डटकममार्फत टिकट काट्न सक्छन् । टिकट काट्दा यात्रुहरूले ईसेवा, फोनपे, खल्ती, प्रभुपेलगायत नजिकै रहेका साइबर, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत अनलाइन टिकट काट्न सक्छन् ।

नील हिरा समाज (ब्लू डायमन्ड सोसाइटी) नेपालमा सीमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान र यौन विशेषताका व्यक्तिहरूमा पनि विशेष गरी तेस्रो लिंगी वर्गको हक अधिकारका निम्ति गैरसरकारी संस्था हो । विविध लैंगिकता र यौनिकताका व्यक्तिहरूविरुद्ध विद्यमान कानुनमा परिवर्तनको पक्षमा वकालत गर्न २००१ मा स्थापित भएको संस्था हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार