गर्मी बढेपछि हरिवनका विद्यालय चार दिन बन्द, तापक्रम ४२ डिग्री

तातो हावा (लू) चल्न नरोकिएपछि सर्लाहीको हरिवन नगरपालिका क्षेत्रका विद्यालय बन्द भएका छन् ।

आगामी शनिबारसम्मका लागि पालिका क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको हरिवन नगरपालिकाले जनाएको छ । नगरपालिकाले मंगलबार सूचना जारी गर्दै आगामी आइतबारदेखि मात्रै पठन पाठन सुरु गर्न भनेको हो ।

अत्यधिक गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्य नजर गर्दै चार दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाको सूचनामा उल्लेख छ ।

हरिवन नगरपालिकाको शिक्षा शाखाका प्रमुख रुस स्टालिन चौलागाईंले हाल सञ्चालनमा रहेका परीक्षाहरु यथावत् रहनेगरी सबै सामुदायिक, संस्थागत र धार्मीक विद्यालय शनिबारसम्म बन्द गर्ने निर्णय गरिएको जानारी दिए । शनिबार सर्लाहीको अधिकतम तापक्रम ४२ डिग्री सेल्सीयस नाघेको थियो ।

सर्लाही सहितका तराई मधेशका जिल्लामा विगत एकसतादेखि तापक्रम बृद्धि हुँदा जनजीवन कष्टकर बनेको छ । दिउँसोपख चल्ने तातो हावाको कारण घर बाहिर निस्कनसमेत मुस्किल हुने गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार