कांग्रेसले भन्यो: गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख केन्द्रको इसारामा चले, त्यो ठीक भएन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुदूरपश्चिम र गण्डकी प्रदेश सरकार निर्माणमा प्रदेश प्रमुखहरुबाट कमजोरी भएको जनाएको छ ।

शुक्रबार पार्टी मूख्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले दुई प्रदेशका प्रमुखहरुले संविधानको बर्खिलाप गर्दै केन्द्रको इसारामा चलेको आरोप लगाएका हुन् ।

‘प्रदेशहरूमा अहिले गैरसंवैधानिक तरिकाले सरकार गठन भइरहेको छ । विशेषतः गण्डकी र सुदूरपश्चिम प्रदेशको सरकार गठन प्रक्रिया गैरसंवैधानिक भयो । आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी गठन भएको सरकारप्रति कांग्रेसको घोर आपत्ति छ’, कांग्रेसका प्रवक्ता मतहले भने ।

सुदूरपश्चिममा मुख्यमन्त्रीमा दुई जनाले दाबी पेश गरेपछि मुख्यमन्त्री नाजिर मियाले दुवै दाबी खारेज गरेर नयाँ दाबी पेश गर्न आह्वान गरेका थिए भने गण्डकीमा सभामुखको समेत हस्ताक्षर देखाएर मुख्यमन्त्रीमा एमाले नेता खगराज अधिकारीले गरेको दाबीलाई सदर गरेका थिए । जसलाई कांग्रेसले असंवैधानिक भन्दै आएको छ ।

गण्डकीमा त सरकारको नियुक्तिविरुद्ध कांग्रैस सर्वोच्च अदालतमा पुगेको छ । सर्वोच्चले पनि अधिकारीलाई दिर्घकालिन प्रकृतिको कुनैपनि निर्णय नगर्न अन्तरिम आदेश दिँदै वैशाख १० गतेका लागि पूर्ण सुनुवाईमा पेशी तोक्न भनेको छ ।

‘संविधान र सर्वोच्च अदालतको आदेश पनि गठबन्धनले उल्लंघन गरेको छ । नियुक्ति पनि गैरकानुनीरूपमा गरिएको छ । रिटको पूर्ण सुनुवाई नहुँदै प्रदेशसभा बैठक आह्वान गरेर प्रदेश प्रमुख र प्रदेश सरकारले अदालतको अवहेलना गरेको छ,’ प्रवक्ता महतले भने । सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै प्रदेश सरकारको निर्णय अन्तरिम आदेश विपरीत रहेको उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार