सुदूरपश्चिममा समाजवादीकै नेतृत्वमा सरकार बन्छ : राजेन्द्र पाण्डे 

काठमाडौं– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको दुई दिनको समय आज सकिँदै छ । सत्ता समीकरणको दल नेकपा एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई समर्थन नगर्ने बताएपछि अन्योलता छ । यता एमालेले सोडारीलाई समर्थन नगर्ने भनेपछि एकीकृत समाजवादीले भने कांग्रेससँग मिल्ने बताएको छ ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘सुदूरपश्चिम समाजवादीकै नेतृत्वमा सरकार बन्छ । विकल्प धेरै छन् ।’ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरेर सुदूरपश्चिममा सहयोग मागेको बताइएको छ ।

प्रदेशमा हाल कायम रहेको ५२ सदस्यमा बहुमतका लागि २७ मत आवश्यक पर्दछ । एकीकृत समाजवादीलाई नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका ५ सांसदले समर्थन गर्ने नगर्ने स्पष्ट रहेको छैन । यस अघि नाउपाका लक्ष्मणकिशोर चौधरीलाई एकीकृत समाजवादीले दिएको समर्थन फिर्ता लिएकाले अब उनीहरूले एकीकृत समाजवादीलाई समर्थन गर्ने नगर्ने स्पष्ट रहेको छैन ।

नाउपाको रेशम पक्षका ५ सांसद र राप्रपाका एक सांसदले समर्थन गरेमा भने २८ मत हुन्छ र बहुमत पुग्ने अवस्था बन्छ । एकीकृत समाजवादी रेशम पक्षका नेताहरूले आफूलाई सघाउने कुरामा ढुक्क छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार