कांग्रेस सभापति देउवा र माधव नेपालबीच डेढ घण्टा संवाद, के भयो कुराकानी ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

कांग्रेस केन्द्रीय सदस्य नारायण खड्काको निवास गल्फुटारमा बुधबार साँझ ६ बजेदेखि करिब डेढ घण्टा दुई नेता बीच संवाद भएको स्रोतले जानकारी गराएको छ । छलफल मुख्य गरी सुदूरपश्चिम सरकारका बारेमा केन्द्रित थियो ।

‘सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्रीमा एमालेले समर्थन नगरे कांग्रेसले समर्थन गर्ने गरी कुरा भएको छ,’ बैठक स्रोतले भन्यो । केन्द्रीय सरकारमा नयाँ समीकरण बनाउन सकिने बारे पनि कुरा भएको छ ।

यसअघि फागुन २१ गते नयाँ गठबन्धन बनेको भोलिपल्ट माधव नेपाललाई भेट्न देउवा उनको निवासमै गएका थिए । बिरामी भएर स्वास्थ्यलाभ गरिरहेका नेपालसँग त्यतिबेला कांग्रेसहितको नयाँ समीकरण बनाउन देउवाले आग्रह गरेका थिए ।

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्दैछन् । तर नेकपा (एमाले) ले उनलाई समर्थन गरिसकेको छैन ।

यस्तो अवस्थामा भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । प्रदेश सरकार गठन लगायतका विषयमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल गठबन्धनसँग रुष्ट छन् ।

त्यही असुन्तुष्टिका कारण एकीकृत समाजवादीले कांग्रेससमेतलाई साथ लिएर नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो ।

नेकपा (एमाले), माओवादी केन्द्रले नागरिक उन्मुक्ति पार्टीकै कैलाश चौधरीलाई मुख्यमन्त्रीका रूपमा समर्थन गर्दै दाबी पेश गरेका थिए ।

प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबी खारेज गरी नयाँ सरकार गठनका लागि गरेको आह्वानको समयसीमा पनि आज साँझ सकिँदैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार