पोखरामा जिप र माइक्रोबस ठोक्किँदा आठ जना घाइते

कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा आठ जना चिनियाँ नागरिक घाइते भएका छन् ।

शहीदचोकबाट मुस्ताङचोक तर्फ जाँदै गरेको बा१३च ५१३७ नम्बरको स्कार्पियो जिप र ड्याम साइडबाट रत्नचोक तर्फ जाँदै गरेको बा१च ८५१ नम्बरको माइक्रोबस आज बिहान ४ः४० बजे राष्ट्र बैंक चोकमा ठोक्किएका थिए ।

दुर्घटनामा माइक्रोबसमा सवार १३ जना चिनियाँ नागरिकहरुमध्ये ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पोखराका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

घाइतेहरुको अवस्था मध्यम रहेको र उनीहरुलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि स्कार्पियो चालक धादिङको नेत्रावती–१ बोराङ बस्ने ४३ वर्षीय राज कुमार अधिकारी र हायसका चालक पोखरा–९ पृथ्वीचोक बस्ने ४१ वर्षीय तुल बहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । स्कार्पियोमा भने चालक मात्रै रहेकाले मानवीय क्षति भएको छैन ।

सोही दुर्घटनामा परेर सडक छेउमा पार्किङमा रोकिराखेको बा२१प ११५२ नम्बरको स्कुटर र श्याम सुन्दर बरालको घरमा रहेको मनि चेन्जरको सटर र वालमा समेत क्षति पुगेको डीएसपी शर्माले बताए ।

दुबै सवारी साधनका चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा राखेर कारबाही प्रक्रिया अघि बढाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार