गुलशन र करणको उत्कृष्ट बलिङमा गुजरात ९८ रनमा अल आउट

तीव्र गतिका बलर गुलशन झा र करण केसीको उत्कृष्ट बलिङमा भारतको स्टेट टोली गुजरातले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा नेपाललाई ९९ रनको सामान्य लक्ष्य दिएको छ ।

साई मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरात १८.२ ओभरमा ९८ रनमा अल आउट भयो ।

गुजरातलाई सस्तैमा रोक्न नेपालका गुल्सन झाले चार विकेट लिए । चार ओभर बलिङ गरेका गुल्सनले २२ रन खर्चिए । करण केसीले तीन विकेट लिए । उनले ३.२ ओभरमा २२ रन खर्चिए । यस्तै, सोमपाल कामीले एक विकेट हात पारे ।

गुजरातका रुद्र पटेलले सर्वाधिक २३ रन बनाए । हेमांग पटेलले २०, सरल प्रजापतिले १७, अभिषेक देसाईले ११ र स्मित पटेलले १० रन थपे । गुजरातका अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपअघि तयारीका लागि हाल नेपाली टिम भारतमा छ । आजको खेलपछि नेपालले अप्रिल २ मा बरोडासँग, अप्रिल ३ मा गुजरातसँग र अप्रिल ५ मा पुनः बरोडासँग खेल्नेछ । शृंखलाका शीर्ष दुई टिम उपाधिका निम्ति अप्रिल ७ मा भिड्नेछन् । शृंखलाका सबै खेल वापीमै हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार