जापानदेखि जर्मनीसम्म पुग्छ ताप्लेजुङमा पासाङको उद्योगमा बनेका नेपाली कागज

ताप्लेजुङ । फुङ्लिङ नगरपालिका-६ का पासाङ लाक्पा शेर्पाले नेपाली कागज बनाउन थालेको २० वर्ष भयो। फुङलिङमा उनले २०६१ मा उद्योग स्थापना गरी नेपाली कागजको उत्पादन सुरू गरेका थिए। अहिले उनको उद्योगमा १० जना काम गर्छन्। उनको पुर्ख्यौली घर भोजपुर हो। उनका बाबुले ०४९ सालतिर तेह्रथुमको बसन्तपुर क्षेत्रमा उद्योग चलाउँथे। पछि तापलेजुङको याम्फुदिन, खेवाङ क्षेत्रमा कागज उद्योग सञ्चालन गरे।

त्यसैलाई निरन्तरता दिएर आफूले ०६१ मा फुङलिङ नजिक छिरिङ हाते कागज उद्योग खोलेको उनले बताए। बाबुलाई सघाउँदा सघाउँदै कागज बनाउने सीप सिकेको पासाङ बताउँछन्। उनको उद्योगमा १० ग्राम, २० ग्राम, ३० ग्राम र ४० ग्राम तौलका कागज उत्पादन हुँदै आएको छ। उनका अनुसार २० ग्राम कागजको प्रतिपन्ना २० रूपैयाँ र ४० ग्राम कागजको प्रतिपन्ना ४० रूपैयाँमा ठूला उद्योगले खरिद गरेर लैजान्छन्।

गर्मी मौसममा दैनिक एक हजार ६ सय थान र जाडो मौसममा ८ सय थानसम्म कागज उत्पादन हुने उनले बताए। ‘जाडो मौसममा सुक्न अलिक समय लाग्ने भएकाले गर्मी मौसममा भन्दा कम उत्पादन हुन्छ,’ शेर्पाले भने, ‘गर्मी मौसममा बढीमा तीन घन्टाभित्र जालीमा राखेको लेदो सुकेर कागज तयार हुन्छ तर जाडामा सुक्न पाँच लाग्छ।’

९० प्रतिशत उत्पादन काठमाडौं हुँदै जापान, चीन, जर्मन लगायत देशमा निर्यात हुने पासाङले बताए। उनका अनुसार जिल्लाका सरकारी तथा गैरसकारी कार्यालयलाई वार्षिक चार लाख बराबरको कागज बिक्री गर्छन्। ‘कागज जति उत्पादन गरे पनि बिक्रीका लागि समस्या छैन,’ पासाङले भने। बरू कच्चा पदार्थको अभावले माग धान्ने गरी उत्पादन गर्न समस्या रहेको बताए।

उद्योगबाट खर्च कटाएर वार्षिक ‍ १२ लाख रूपैयाँ आम्दानी हुने उनले बताए। उद्योगकै आम्दानीले छोराछोरीको पढाइमा खर्च गरी बचतबाट सदरमुकाममा जग्गा खरिद गरेको पनि पासाङ सुनाउँछन्। ‘अहिले उहाँ घर बनाउने तयारीमा छु,’ उनले भने। घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका अनुसार ताप्लेजुङमा १९ वटा नेपाली हाते कागज उद्योग दर्ता छन् । त्यसमध्ये केही उद्योग मात्र सञ्चालनमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार