पँधेरोमा नुहाउन गएकी युवतीको हत्या आरोपमा एक जना पक्राउ

बुटवल । पँधेरोमा नुहाउन गएकी १९ वर्षकी युवतीको हत्यामा संलग्न भएको आरोपमा पाल्पामा एकजना पक्राउ परेका छन् । रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी पद्‍मा सुनारको हत्या अभियोगमा प्रहरीले स्थानीय सागर भनिने देवलाल सार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

१३ चैतमा देवलालले धारिलो हतियारको प्रयोग गरी पद्माको हत्या गरेको प्रहरीको भनाइ छ । पद्‍मा घरभन्दा केही टाढा रहेको धारामा नुहाउन गएकी थिइन्। देवलाल सोही धारामा पुगेका थिए। उनीहरूबीच सामान्य विवाद भएको थियो। के बारेमा विवाद भएको भन्नेबारे खुलिसकेको छैन। देवलालले पद्मासंग भनाभन हुँदा आवेशमा आएर हत्या गरेको स्वीकार गरेका छन् ।

विवादपछि डोकोमा धोएका कपडा बोकेर घर फर्किँदै गरेकी पद्‍मालाई पछाडिबाट धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घरभन्दा केही पर खुलखुले गैरामा उनले आक्रमण गरेका थिए।

प्रहरीले लप्सीफेंदीस्थित देवलालको घर र गोठबाट हत्यामा प्रयोग भएको हसिया, मोवाइललगायतका सामान बरामद गरेको छ । देवलालको घर धारो नजिकै पर्छ। यहाँ देवलालको एक्लो घर छ। शंकाको आधारमा घटना घटेकै दिनदेखि प्रहरीले देवलाललाई निगरानीमा राखेको थियो। पद्माका बुवा दलबहादुर सुनारले उनीविरुद्ध दिएको किटानी जाहेरी शुक्रबार प्रहरीले दर्ता गरेको छ ।

रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका देवलाल केही महिना अघि मात्र नेपाल आएका थिए।

गत मंगलबार बिहान ९ बजे नुहाउन गएकी उनी दिउँसो तीन बजेसम्म पनि घर नफर्किएपछि परिवारले खोजी गरेका थिए। खोजी गर्ने क्रममा घरभन्दा केही टाढा रहेको गोरेटो बाटोमा उनले बोकेको डोको, बाटा, बाल्टिन र कपडा फेला परेको थियो। बाटोभन्दा तल खरबारीमा उनको शव क्षतविक्षत अवस्थामा भेटिएको थियो ।

शव पोष्टमार्टमका लागि रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार