त्रिभुवन विमानस्थलमा उडान प्रभावित

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताए । उनका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने (होल्ड) भएका छन् ।

अहिले पनि सिचुवना एयरलाइन्सको जहाज होल्डमा रहेको छ। प्रतिकूल मौसमले विमानस्थलको भिजिबिलिटी कमजोर रहेको छ। एक घण्टा अगाडि एक हजार ६ सय मिटरमात्रै भिजिबिलिटी रहेकामा अहिले दुई हजार पाँच सय रहेको छ । ‘होल्डमा रहेका अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण हुन थालेका छन्,’ प्रवक्ता झाले भने ।

आन्तरिकतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान भएको छैन । तराई क्षेत्रका विमानस्थलमा भने नियमित उडान भइरहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सेवा दिइरहेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार