आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारी, भन्सारमा ढुण्डीराज निरौला

अर्थमन्त्री वर्षमान पुनले अन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी शिवलाल तिवारीलाई दिएका छन्। राजस्व पृष्ठभूमिका तिवारीलाई आन्तरिक राजस्वको जिम्मेवारी दिइएको हो। यसअघि उनी ठूला करदाता कार्यालयका प्रमुखको रुपमा काम गरिसकेका छन्। अहिले अर्थ मन्त्रालय आउनुअघि भने उनी वातावरण विभागका महानिर्देशकको रुपमा कार्यरत थिए।

त्यस्तै मध्यमस्तरीय कर कार्यालयको जिम्मेवारी निर्वाह गरिसकेका ढुण्डीराज निरौलालाई भने भन्सार विभागको महानिर्देशकको जिम्मेवारी प्रदान गरेका छन्। निरौला अर्थमन्त्रालय आउनुअघि पर्यटन तथा होटल व्यवसाय प्रतिष्ठानमा कार्यरत थिए। अर्थ मन्त्रालयमा अन्य सहसचिवको समेत जिम्मेवारी हेरफेर भएको छ।

भन्सार विभागका शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुखको जिम्मेवारी दिइएको छ। तालिम केन्द्रका राम प्रसाद आचार्यलाई मन्त्रालय तानिएको छ। राजस्व व्यवस्थापन महाशाखा प्रमुख रहेका रितेश कुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी दिइएको छ। राजस्व महाशाखामा धनिराम शर्मा ल्याइएको छ। त्यस्तै उत्तर कुमार खत्रीलाई योजना, अनुगमन शाखामा सारिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार