बागलुङमा १४ वर्षे बालिका बलात्कार प्रकरण: पैसा बुझाउने पक्राउ, नाम आएकालाई समात्ने तयारी

बागलुङको निसीखोलामा १४ वर्षिया बालिका बलात्कार प्रकरणमा मुछिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । निसीखोलाकै झिवाखोला बजारमा व्यापार गर्ने विजय मल्ललाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मल्ललाई भैरहवाबाट पक्राउ गरिएको जानकारी प्रहरीले गराएको छ । निसीखोलाकी १४ वर्षकी बालिकाको पेटमा ९ महिनाको गर्भ रहेको र त्यसलाई फाल्न आर्थिक लेनदेन भइरहेको विषय सार्वजनिक भएपछि मल्ल भागेर भारततर्फ जाँदै थिए ।

बालिका गर्भवती भएको विषयमा स्थानीयले धेरै पहिलेदेखि थाहा पाएको भएपनि पैसामा लेनदेन गरेर घटना लुकाउने प्रयास भइरहेको थियो । पत्रकार राजु सुवेदीले घटना फेसबुकमार्फत सार्वजनिक गरिदिएपछि यसको अनुसन्धान सुरु भएको हो । सुवेदीले १४ वर्षकी बालिकामाथि स्थानीय व्यापारी, शिक्षक र कर्मचारीले बलात्कार गरेको तर गर्भमा रहेको बच्चा कसको भन्ने विवाद बनाएर अपराधी उम्काउने प्रयास भइरहेको उल्लेख गरेका थिए ।

स्थानीय जनप्रतिनिधि निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीले समेत बलात्कारजस्तो जघन्य अपराध पैसाको लेनदेनमार्फत छिपाउन खोजिएको स्विकारेका छन् । घर्तीले टिभी अन्नपूर्णको कुराकानीमा भनेका छन् “स्थानीय भेलामा बालिकाले आफूमाथि एकजना शिक्षक, एक कर्मचारी, एक व्यापारीसहित ४ जनाले विभिन्न फरक फरक समयमा बलात्कार गरेको बयान दिएकी हुन्” । तर, बालिकाको पेटमा रहेको गर्भ स्थानीय व्यापारी विजय मल्लको भएको अनुमानले बालिकाको परिवारले उनीबाट १ लाख ६ हजार लिएर गर्भपतन गर्ने तयारी भएको थियो ।

बालिकाको गर्भ ७ महिनाभन्दा बढी भएकाले गर्भपतनको सम्भावना नभएपछि घटना सार्वजनिक भएको हो । फागुन ८ गते पत्रकार सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकामाथि भएको बलात्कारको घटना ९ महिनादेखि पीडितलाई हप्कीदप्की गरेर लुकाइएको भन्दै कारबाहीको माग गरेका थिए। सुवेदीले फेसबुकमार्फत सार्वजनिक गरेकै भोलीपल्ट नाबालिका बलात्कारको विषय बागलुङ प्रहरीमा पुगे पनि त्यसको भोलिपल्ट १० गते मात्रै प्रहरीमा मल्लकाबिरुद्ध जाहेरी दर्ता भएको थियो । प्राप्त जाहेरीका आधारमा भारततर्फ भाग्दै गरेका मल्ललाई हिजो बेलुका पक्राउ गरिएको प्रहरी निरीक्षक दीपकबाबु केसीले टिभी अन्नपूर्णलाई जानकारी दिए । आजै पीडितको पनि बयान लिने काम अघि बढेको केसीको भनाई छ ।केसीले भनेका छन, ” स्थानीयस्तरमा भएको छलफलका बेला पीडितले अन्य ३ जनाको पनि नाम लिएको भन्ने कुरा सुन्नमा आएको छ । तर, परिवारले मल्लकाविरुद्धमा मात्रै जाहेरी दिएकाले मल्ल पक्राउ परेका हुन । स्थानीय छलफलमा दिएको पीडितको बयानकै आधारमा पनि बलात्कार प्रकरणमा जोडिएका सबैलाई नियन्त्रणमा लिएर सोधपुछ थाल्ने तयारी छ ।”

बलात्कारबाट पीडित बालिकाले ४ दिनअघि मात्रै जटिल स्वास्थ्य अवस्थाकी छोरी जन्माएकी छन् । उनले स्थानीयसँगको बयानमा आफूमाथि मल्लसहित अन्यले पनि बलात्कार गरेको तर गर्भ रहेको समयलाई आधार मान्दा पेटको गर्भ मल्लको हुनसक्ने बयान दिएकी थिइन । तर, परिवारले १ लाख ६ हजार बुझेर घटनाको ढाकछोप गर्ने तथा स्थानीय छलफलमा बालिकाले लिएका नामको विषयलाई लुकाउन खोजेको देखिएको छ ।

स्थानीय छलफलका क्रममा बालिकाले अन्य ३ जनाको नामसमेत लिएको विषय निसीखोला गाउँपालिकाका उपाध्यक्ष घर्तीले समेत पुष्टि गरेका छन् । तर, नेपाली सेनामा कार्यरत नरेश हुँ भन्दै ९८०३१…..४४ नम्बरबाट फोन गरेर बलात्कारको घटना सार्वजनिक गर्नेलाई ज्यानै लिनेसम्मको धम्की दिए । उनले फोन र फेसबुकमार्फत घटनाको विषयमा सार्वजनिक भएका समाचार र फेसबुक स्ट्याटस तुरुन्तै नहटाए खतरा हुने भन्दै धम्काउन थालेको अडियो टिभी अन्नपूर्णले प्राप्त गरेको छ । यता बलात्कारसम्बन्धी कानुनका जानकारहरू बलात्कारको घटनालाई ९ महिनादेखि पैसाको लालच देखाएर छिपाएर पीडितलाई थप पीडा दिने स्थानीय जनप्रतिनिधि, प्रहरी र बलात्कारजस्तो जघन्य अपराधमा पैसाको लेनदेन गर्ने पीडित बालिकाका अभिभावकमाथि समेत अनुसन्धान हुनुपर्ने बताउँछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार