के हो थाइराइड रोग ? यस्ता छन् लक्षण

पछिल्लो समय थाइराइड रोगका बिरामी संसारभरि नै बढिरहेका छन् । खासमा थाइराइड हर्मोन शरीरलाई एकदम आवश्यक पर्छ । टाउकोदेखि खुट्टासम्म शरीरका हरेक अंगलाई यो हर्मोन चाहिन्छ । यसले शरीरको मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया) लाई नियन्त्रण गर्छ । थाइराइड ग्रन्थि हाम्रो घाँटीको तलपट्टि हुन्छ, जसले हर्मोन उत्पादन गर्छ । थाइराइड रोग लाग्यो भने हर्मोन बढी वा कम उत्पादन हुने समस्या हुन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र कम हुनुलाई हाइपो थाइराइडिज्म भनिन्छ ।

थाइराइडको समस्या पुरुषमा भन्दा बढी महिलामा देखिन्छ किनभने अटोइम्युन समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ । र, हर्मोन कमीको समस्या पुरुषभन्दा महिलामा नै बढी देखिन्छ ।
थाइराइड जुनसुकै उमेरका व्यक्तिलाई पनि हुने समस्या हो । हर्मोन बढीको समस्या २० देखि ४० वर्षको उमेरमा बढी देखिन्छ । हर्मोनको कमी जुनसुकै उमेरमा देखिने भएपनि ३०–४० वर्ष कटेपछि बढी देखिन्छ । नेपालमा थाइराइडका बिरामी कति छन् भन्ने विषयमा यकिन तथ्यांक छैन ।

थाइराइडका प्रकार

हाइपो थाइराइडिज्म

थाइराइड रोगमा पनि सबैभन्दा बढी देखिने समस्या भनेको हाइपो थाइराइडिज्म हो । हर्मोनको उत्पादन कम भएमा यो रोग लाग्छ । पुरुषको तुलनामा महिलामा यो रोग बढी देखिन्छ । खासगरी २० देखि ४० वर्ष उमेरसमूहका प्रजनन उमेरका महिलालाई बढी सताउँछ । यसका साथै सीमित रुपमा पुरुष तथा बालबच्चाहरुलाई पनि यो रोग लाग्न सक्छ ।

त्यसो त थाइराइड रोग लागेका मानिसले काउली र बन्दा खानै हुँदैन भन्ने भ्रम छ । तर, यो रोग खानपिनसित खासै सम्बन्धित हैन । दिनमा डेढ/दुई किलोभन्दा बढी काउली वा बन्दा खाएमा मात्र समस्या हुने हो । त्यति मात्रामा नेपालीहरुले प्रायः नखाने भएकाले खानेकुरासँग थाइराइडलाई जोडेर डराउनु पर्दैन ।

थाइराइडका बिरामीहरुले विशेषगरी आयोडिनयुक्त नुन र सी फुड (सामुद्रिक खाना) बाट जोगिनुपर्छ । बढी आयोडिन र समुद्रबाट निकालिएका माछाले हानि गर्छ । नेपालमै नदीनाला र पोखरीमा पाइने माछाले भने केही बिगार गर्दैन । तर, यस्ता खानेकुरा भरसक कम खानुपर्छ ।

हाइपो थाइराइड भएका बिरामीहरुमा मोटोपनको समस्या बढी हुने भएकोले मोटोपन घटाउन ध्यान दिनुपर्छ । ती बिरामीले विशेषगरी भात, आलु, मैदा, गुलियो, चिल्लो लगायतका क्यालोरी अधिक हुने खानेकुरा कम खानुपर्छ ।

हाइपर थाइराइडिज्म

हाइपर थाइराइड हाइपो जस्तो धेरैलाई लाग्ने रोगमा पर्दैन । त्यसो त हाइपर थाइराइडिज्म हाइपोको तुलनामा केही जटिल मानिन्छ । सही तरिकाले उपचार नभएमा यसले ज्यान नै जोखिममा समेत पार्न सक्छ । त्यसैले यसको उपचार समयमै गरिहाल्नुपर्छ । औषधिको सेवनबाटै यो रोग निको हुन्छ । कतिपय बिरामीले रेडियो एक्टिभ आयोडिन भन्ने विशेष किसिमको औषधि सेवन गर्नुपर्ने हुन्छ ।

थाइराइड नोडुल वा क्यान्सर

थाइराइड ग्रन्थिमा गिर्खा पलायो भन्दैमा त्यो क्यान्सर नै हुन्छ भन्ने छैन । तर, त्यसको लागि चिकित्सकको निगरानीमा बसेर फलोअफ गर्नु जरुरी हुन्छ । किनकि कतिपय त्यस्ता गिर्खा वा डल्ला पछि गएर क्यान्सरमा परिणत पनि हुन सक्छ । त्यो गिर्खालाई शल्यक्रियाबाट फाल्नुपर्ने हुन्छ ।

केही गरी थाइराइड क्यान्सर भइहाले पनि त्यो त्यति डरलाग्दो रोग भने हैन । यो निको हुने क्यान्सरमध्येमा पर्छ । तर, त्यसको पहिचान समयमा हुन जरुरी छ । कसैलाई थाइराइड क्यान्सर भए-नभएको साधारण भिडियो एक्स-रे र एफएन इसी जाँचबाटै थाहा हुन्छ । रोग पहिचानपछि यसको उपचार भनेको शल्यक्रिया नै हो । शल्यक्रियापछि पनि बिरामीले चिकित्सकको निगरानीमा बस्नुपर्ने हुन्छ ।

क्यान्सर भएको कसरी थाहा पाउने ?

कुनै पनि थाइराइडमा क्यान्सर देखा परेमा त्यसमा सुरुमा डल्लो पलाउँछ । बाहिरबाट नदेखिए पनि अल्ट्रासाउण्ड गर्दा डल्लो देखिन सक्छ । उक्त डल्लो जाँच गर्दा क्यान्सर भए-नभएको पत्ता लाग्छ । थाइराइडका बिरामीले थाइराइड ग्रन्थिमा क्यान्सर भए-नभएको पत्ता लगाउन वर्षमा कम्तीमा एक पटक थाइराइडको अल्ट्रासाउण्ड गर्नु उचित हुन्छ । थाइराइड नभएकाहरुले पनि घाँटीमा कुनै गिर्खा देखा परेमा चिकित्सकसित परामर्श लिइहाल्नुपर्छ ।

लक्षण
हर्मोन कम र बढी हुँदाका लक्षण अलग–अलग हुन्छन्।

कम हुँदा (हाइपो थाइराइडिज्म):
१.शरीर गलेको महसुस हुने।
२.शरीर सुन्निने।
३.कपाल झर्ने।
४.निन्द्रा नलाग्ने वा बढी लाग्ने।
५.छाला फुस्रो हुने।
६.महिनावारी गडबड हुने।

बढी हुँदा (हाइपर थाइराइडिज्म):

१.तौल घट्दै जाने।
२.शरीर तातो हुने।
३.निन्द्रा नलाग्ने।
४.मुटुको धड्कन बढेजस्तो हुने।
५.हात–खुट्टा काँप्ने।
६.चिडचिड पसिना आउने।
७.बढी रिस उठ्ने।

खाना बार्नुपर्छ कि पर्दैन ?

थाइराइड खानेकुराले गर्दा हुने समस्या होइन। सुरु–सुरुमा आयोडिनको कमीले गर्दा हुने गलगाँडको समस्यालाई बन्दा, काउली बार्नुपर्छ भनिन्थ्यो । तर अहिले त्यस्तो हुँदैंन । अहिले देखिने थाइराइडको समस्यालाई खानामा त्यस्तो केही पनि बार्नुपर्दैन।

थाइराइडप्रतिको भ्रम

थाइराइडप्रति मानिसहरुमा धेरै भ्रम छ । हर्मोनको गडबडीका कारण थाइराइड रोग हुनेहरुमा निःसन्तानपनको समस्या हुने गर्छ । तर, त्यसको समयमै उपचार भएमा त्यो समस्या रहँदैन ।

उपचार
हर्मोन कमीको समस्यालाई ट्याब्लेटबाट पूर्ति गर्छौं । हर्मोन बढीको समस्यालाई भने दुइवटा उपचार छन् । एउटा औषधि खाने र अर्को ग्रन्थी सुकाउने।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार