वाणिज्य बैंक बाहेकका वित्तीय संस्था साइबर अपराधको जोखिममा छन् : विज्ञ

साइबर सुरक्षा विज्ञ विजय लिम्बुले वाणिज्य बैंकबाहेकका अन्य बैंक तथा वित्तीय संस्था साइबर अपराधको जोखिममा रहेको बताएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै विज्ञ लिम्बूले वाणिज्य बैंकबाहेकका वित्तीय संस्थाहरु साइबर अपराधको जोखिममा रहेको बताएका हुन् ।

‘संस्थाको दृष्टिकोणबाट हेर्ने हो भने वाणिज्य बैंकलाई साइबर सुरक्षित भन्न सकिन्छ। यता कता अहिले विकास बैंकहरु पनि आइरहेका छन् साइबर सुरक्षाका लागि। जब म फाइनान्स र माइक्रोफाइनान्स तिर जान्छु, उनीहरु अझै संघर्ष गरिरहेका छन्,’ उनले भने।

लिम्बुका अनुसार बिकास बैंक तथा अन्य वित्तीय संस्थाहरु साइबर हमलाको जोखिममा रहेका छन् । साइबर सुरक्षाका लागि नेपाल राष्ट्र बैंकको मापदण्ड पूरा गर्न सक्ने अवस्थामा वाणिज्य बैंकहरु मात्र रहेको उनको भनाइ छ।

त्यस्तै लिम्बुले नेपालबाटै हुने साइबर स्क्याम बढेको समेत बताएका छन् । उनका अनुसार केही वर्षअघिसम्म नाइजेरिया लगायतका देशबाट साइबर अपराधका हुन्थ्यो भने अहिले नेपाल भित्रैबाट साइबर स्क्याम बढेको बताए ।
साथै, विज्ञ लिम्बुले साइबर सुरक्षाका विषयमा बैंकहरुले अझैपनि धेरै काम गर्नुपर्ने बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार