सूर्य तामाङको शानदार प्रदर्शनमा आर्मीविरुद्ध बागमतीको सहज जित

स्पीनर सूर्य तामाङको उत्कृष्ट प्रदर्शनमा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमतीले विभागीय क्लब त्रिभुवन आर्मी क्लबलाई हराएको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बागमतीले आर्मीलाई ३ विकेटले हराएको हो ।

आर्मीले दिएको ९८ रनको सामान्य लक्ष्य बागमतीले २२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । बागमतीका लागि प्रतिश जिसीले अविजित २१ रनमा रहँदा अशोक पौडेलले २१, इशान पाण्डे र रविन जोशीले समान १२ तथा विपीन आचार्यले १० रन थपे । बागमतीले १७ रन अतिरिक्तमा पाएको थियो ।

बलिङतर्फ आर्मीका सोमपाल कामीले तीन तथा साहव आलम र जितेन्द्र मुखियाले समान २ विकेट लिएपनि त्यो जितका लागि प्रर्याप्त भएन । ४ यो जितसँगै बागमती प्रदेश अंक तालिकोको चौथो स्थानमा उक्लिएको छ ।

यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको आर्मी २७ ओभरमा ९७ रनमा अलआउट भएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन जोडे । दोस्रो बलमा जीवनदान पाएका भण्डारीले भीम सार्कीसँग मिलेर टिमको स्कोर उकास्ने प्रयास गरेका थिए । ४० बलको सामना गरेका उनले ४ चौका हिर्काए ।

त्यस्तै भीम सार्की १८ रनका आउट हुँदा ओपनर सन्तोष कार्की ९, इमरान शेख ५, वसिर अहमद ५, सन्दीप रजाइली १, साहव आलम ख७ रनमा आउट भए भने जितेन्द्र मुखियाले ८ र विवेक यादवले ११ रन थपे । कुशल भूर्तेल शून्य रनमा गोल्डेन डकआउट हुँदा सोमपाल कामी पनि शून्य रनमै क्याच आउट भए ।

उपाधि दावेदार आर्मीलाई निरीह पार्न बागमतीका लागि सूर्य तामाङ एक्लैले ५ विकेट चट्काए । ९ ओभर बलिङ गरेका उनले २ मेडन राख्दै मात्र २६ रन खर्चिउ । सूर्यले मंगलबार मधेश प्रदेशविरुद्धको खेलमा ह्याटिकसहित ६ विकेट लिएका थिए । जारी प्रतियोगिताको चार खेलमा उनले १७ विकेट लिइसकेका छन् ।

त्यस्तै रिजन ढकाल र प्रतिश जिसीले समान २ तथा कृजल गुरुङले एक विकेट लिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार