एनएसएल : उपाधिका लागि आज धनगढी र ललितपुर भिड्दै

नेपाल सुपर लिग (एनएसएल) को उपाधिका लागि आज साविक उपविजेता धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजेदेखि सुरु हुनेछ । दोस्रो संस्करणको एनएसएलले आज नयाँ च्याम्पियन पाउनेछ ।

लगातार दोस्रो पटक फाइनल खेल्न लागेको धनगढी पहिलो पटक उपाधि उचाल्ने योजनामा छ ।

धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्स एफसीलाई टाइब्रेकरमा ४–३ ले पराजित गदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो ।

ललितपुरले पनि दोस्रो क्वालिफायरमा पोखरालाई नै २–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

अंक तालिकाको चौथो स्थानमा रहँदै एलिमिनेटरमा स्थान बनाएको ललितपुरले साविक विजेता काठमाडौं रेजर्सलाई ३–० ले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।

पहिलो पटक फाइनलमा पुगेको ललितपुर उपाधि होडमा छ । लिगमा उतारचढावपुर्ण यात्रा तय गरेको ललितपुर यो मौकालाई खेर जान दिने पक्षमा छैन ।

एनएसएलको उपाधि विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उप विजेताले भने २० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदियमान खेलाडीले जनही १ लाख रुपियाँ प्राप्त गर्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार