म्याग्दी र मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्गकाे बेनी–जोमसोम खण्ड अवरुद्ध

गए रातिदेखि परेको वर्षासँगै आएको बाढी तथा पहिरोले बेनी-जोमसोम-कोरला सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएको छ । म्याग्दी र मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत विभिन्न चार ठाउँमा पहिरो खसेर सडक अवरुद्ध बनेको छ ।

वर्षाका कारण बाढीपहिरोले म्याग्दीको रघुगंगा गाउँपालिका–३, गलेश्वर, चमेरे, रघुगंगा–१, बेगखोला र अन्नपूर्ण–३, दानामा बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सडक माथिबाट खसेको लेदो, ढुङ्गामाटो र गेगरसहितको बाढी तथा पहिरोले सडक हिलाम्मे हुनुका साथै पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक विरेन्द्रराज गुरुङले बताए ।

यसैगरी पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिका जोड्ने बेनी–दरबाङ सडकखण्ड पनि अवरुद्ध बनेको छ । गए रातीको वर्षाका कारण सडकभन्दा माथिबाट खसेको पहिरोले बेनी नगरपालिका–४, घुमाउनेभीर तथा मालिका–६, दरबाङको बाङ्गे पहिरो भन्ने ठाउँमा सडक अवरुद्ध भएको जिप्रका म्याग्दीका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।

अवरुद्ध सडक खुलाउन स्थानीय तह तथा सडक आयोजनाका प्रतिनिधिसँग समन्वय गरिएको भए पनि सिमसिम पानी परेको र सडकमा लेदो बगिरहेकाले समस्या भैरहेको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार