अफगानिस्तानका एक हजार सुरक्षाकर्मी ज्यान जोगाउन ताजिकिस्तान पुगे

विद्रोही सङ्गठन तालिवानसँग भिडन्तकै बेला अफगानिस्तानका एक हजारभन्दा बढी सुरक्षाकर्मी ताजिकिस्तान प्रवेश गरेका छन् । ताजिकिस्तानको सीमा सुरक्षाकर्मीले अफगानिस्तानका सुरक्षाकर्मी ज्यान जोगाउन सीमा प्रवेश गरेको बताएको छ ।

बिबिसीका अनुसार अफगानिस्तानका सुरक्षाकर्मी भिडन्तको क्रममा ताजिकिस्तान सीमामा प्रवेश गरेको यो तेस्रो पटक हो । करिब एक हजार ६ सय सुरक्षाकर्मी ताजिकिस्तान पुगेका छन् । अफगानिस्तानको बदाख्शन र ताखर प्रान्त ताजिकिस्तान सीमासँग जोडिएका छन् । तालिवान समूहले उक्त प्रान्तका अधिकांश भूभाग नियन्त्रणमा लिएको छ । तालिवानले पाकिस्तान सीमासँग जोडिएको एक अफगान सुरक्षा जाँच केन्द्रलाई समेत आफ्नो नियन्त्रणमा लिएको छ ।

अफगानिस्तानका एक जना वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले सबै सडक बन्द गरेपछि सुरक्षाकर्मीलाई ताजिकिस्तान प्रवेशको विकल्प नरहेको बताएको उल्लेख गरेको छ ।

अफगान राष्ट्रपति अशरफ घानीले सुरक्षाकर्मी तालिवानको सामना गर्न पूर्ण सक्षम रहेको दाबी गरेपनि दर्जनौँ सुरक्षाकर्मी उज्बेकिस्तान र पाकिस्तानमा शरण लिन पुगेका छन् । तालिबानसँगको भिडन्त उत्कर्षमा पुगे मध्ये एसियाका अन्य कतिपय राष्ट्रमा अफगान शरणार्थी बढ्ने चिन्तामा छन् ।

तालिवानका प्रवक्ता सुहैल शाहीनले भने हिंसात्मक गतिविधि बढ्नुमा तालिवान जिम्मेवार नरहेको बताएका छन् । उनले अफगान सुरक्षाकर्मी लड्न अस्वीकार गरेपछि थुप्रै जिल्ला तालिवानको कब्जामा आएको बताएका छन् ।

अफगानिस्तानमा हिंसात्मक घटनामा उच्च दरले वृद्धि भएको छ । उत्तरी अफगानिस्तानका भूभाग तालिवानले नियन्त्रणमा लिने क्रम जारी राखेको छ । नेटो सङ्गठनका सुरक्षाकर्मी २० वर्षपछि अफगानिस्तान छोडेर प्रस्थान गर्न लाग्दा तालिवानले आफ्नो गतिविधि तेज बनाएको हो । अफगानिस्तानमा रहेका अधिकांश विदेशी सुरक्षाकर्मी स्वदेश फर्केका छन् । यस्तो अफगानिस्तानको सुरक्षा निकाय समर्पण गर्ने आशङ्का बढेको छ ।

तालिवान समूहसँगको सम्झौता बमोजिम अमेरिकी र नेटो सङ्गठनमा आबद्ध राष्ट्रका सुरक्षाकर्मी सेप्टेम्बर महिनासम्म अफगानिस्तान छाड्नेछन् । जवाफमा तालिबानले अल कायदा वा अन्य अतिवादी सङ्गठनलाई आफूले नियन्त्रणमा लिएको भूभागमा कुनै गतिविधि गर्न दिने छैन । यद्यपि तालिवानले हिंसात्मक गतिविधि छोडेको छैन । र अफगानिस्तानको एक तिहाइ भूभाग आफ्नो नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार