इजरायल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

इजरायलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ कम्तीमा पनि शुक्रबारसम्म सुरु नहुने बताएको छ । इजरायलको उक्त भनाइले हमाससँगको युद्ध रोक्नका लागि भएको महत्त्वपूर्ण सम्झौता रोकिएको छ ।

इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाँची हानेग्बीले हमासद्वारा बन्धक बनाइएका कम्तीमा ५० इजरायली तथा विदेशी बन्धकहरूको रिहाइ अहिले पनि जारी रहेको तर अपेक्षाअनुसार बिहीबार यस्तो नहुने सङ्केत गरेका छन् ।

“हाम्रा बन्धकहरूको रिहाइका लागि सम्पर्क अगाडि बढेको छ र यो जारी छ”, उनले एक विज्ञप्तिमा भने, “रिहाइको सुरुआत पक्षहरूबिचको मूल सम्झौताअनुसार हुनेछ र शुक्रबारभन्दा पहिला हुनेछैन ।”

अर्का इजरायली अधिकारीले युद्धमा अस्थायी रोक बिहीबार पनि सुरु नहुने बताएका छन् । यो ढिलाइ आफ्ना प्रियजनहरूलाई घर फर्केको हेर्नका लागि चिन्तित परिवार र ४७ दिनको युद्ध तथा अभावको समाप्तिका लागि प्रार्थना गरिरहेका २० लाखभन्दा धेरै गाजाबासीहरूका लागि ठुलो झट्का हो ।

जटिल तथा सावधानीपूर्वक तयार गरिएको सम्झौतामा इजरायल र हमास चार दिने युद्धविराम गर्न सहमत भएका छन् । सम्झौताअन्तर्गत प्यालेस्टिनी लडाकु समूहले अक्टोबर ७ मा गरेको घातक हमलामा बन्धक बनाइएकामध्ये कम्तीमा ५० व्यक्तिलाई रिहा गरिने छ ।

रिहा गरिएका प्रत्येक १० अतिरिक्त बन्धकका लागि युद्धमा एक अतिरिक्त दिनको ‘विराम’ हुने इजरायली सरकारले एक दस्ताबेजमा बताएको छ । रिहाइका लागि तोकिएकामध्ये तीन वर्षीय अबिगैल मोर इदानसहित तीन अमेरिकी रहेका छन् ।

बदलामा इजरायलले कम्तीमा एक सय ५० प्यालेस्टिनी महिला तथा बालबालिकालाई रिहा गर्नेछ र हप्तौँको बमबारी तथा ठुलो लडाइँपछि घेरामा परेको तटीय क्षेत्रमा थप मानवीय सहायतालाई अनुमति दिनेछ ।

इजरायल, प्यालेस्टिनी लडाकु समूह, कतार, इजिप्ट र अमेरिका सम्मिलित धेरै साताको कुराकानीपछि भएको सम्झौताको कार्यान्वयनमा भएको यो ढिलाइका कारण तत्काल स्पष्ट हुन सकेको छैन । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले बिहीबार सम्झौताको कार्यान्वयन ‘जारी रहेको र सकारात्मकरूपमा भइरहेको’ बताए । “अबको केही घण्टामा युद्धविराम सम्झौताको टुङ्गो लगाइने छ”, उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार