तरबूज कसरी प्यालेस्टिनी एकताको बलियो प्रतीक बन्यो ?

काठमाडौं 

इजरायल(गाजा युद्धको समयमा तरबूज प्यालेस्टिनी कारणको समर्थनमा एक शक्तिशाली रूपक बनेको छ ।

तरबूजको रातो, कालो, सेतो र हरियो रंग यस रसदार फलमा मात्रै नभएर प्यालेस्टाइनको झण्डाको रंग पनि हो । तरबूजहरू फेरि प्यालेस्टाइन समर्थक र्‍यालीहरू र सोशल मिडिया पोस्टहरूमा प्रमुख रूपमा देखा परेका छन् ।

जानौँ– तरबूज कसरी प्यालेस्टिनी एकताको एउटा बलियो प्रतीक बन्यो रु ‘प्यालेस्टाइनमा जहाँ प्यालेस्टिनी झण्डा फहराउनु अपराध मानिन्छ, त्यहाँ प्यालेस्टिनीहरू इजरायली सैनिकविरुद्ध रातो, कालो, सेतो र हरियो रङका लागि तरबुजोका टुक्रा देखाउँछन् ।’ 

यी पंक्ति अमेरिकी कवि अरासेलिस गिरमेको कविता ‘ओड टु द टरमेलन’का हुन् । तिनीहरूले प्यालेस्टिनी समस्याको सन्दर्भको रूपमा फलको प्रतीकात्मक अर्थलाई बुझाउँछन् ।

रातो, कालो, सेतो र हरियो तरबुजोका मात्र नभई प्यालेस्टिनी झन्डाका पनि रङ हुन् । तसर्थ इजरायल–गाजाबीच युद्धका बेला विश्वभर प्यालेस्टाइन समर्थक मार्च र सामाजिक सञ्जालमा तरबुजोका प्रतीक देख्न सकिन्छ ।

तर तरबुजो यस्तो प्रतीक बन्नाका पछाडि इतिहास छ ।

प्यालेस्टिनी झण्डामा प्रतिबन्ध
सन् १९६७ को अरब–इजरायली युद्धपछि जब इजरायलले गाजा र वेस्ट बैंक आफ्नो नियन्त्रणमा लियो, तब उसले आफूले जितेका क्षेत्रमा प्यालेस्टिनी झण्डा र यसमा रहेका रङजस्ता राष्ट्रिय प्रतीक प्रदर्शन गर्न प्रतिबन्ध लगायो । प्यालेस्टिनी झण्डा बोक्ने अपराध भयो । अनि यसको विरोधमा प्यालेस्टिनीहरूले तरबाजाका टुक्रा प्रयोग गर्न थाले ।

सन् १९९३ मा इजरायल र प्यालेस्टाइनबीच भएको ओस्लो अन्तरिम सम्झौतापछि प्यालेस्टिनी प्राधिकरणले झण्डालाई मान्यता दिएको थियो । गाजा र कब्जा गरिएको वेस्ट बैंकका केही भागमा शासन गर्न प्राधिकरण सिर्जना गरिएको थियो ।

न्युयोर्क टाइम्सका पत्रकार जोन किफनरले ओस्लो सम्झौतामा हस्ताक्षर भएपछि लेखेका थिए, ‘एकपटक गाजामा केही युवालाई काटिएको तरबुजो बोकेको आरोपमा पक्राउ गरिएको थियो । ती युवाले रातो, कालो र हरियो प्यालेस्टिनी रङ प्रदर्शन गर्दै प्रतिबन्धित झण्डासहितको जुलुस निकालेका थिए र त्यहाँ उपस्थित सैनिकहरूविरुद्ध नारा लगाएका थिए ।’ 

यसको धेरै महिनापछि डिसेम्बर १९९३ मा अखबारले रिपोर्टमा गिरफ्तारीको दाबी पुष्टि गर्न सकेन भनेर नोट गर्‍यो । सँगसँगै के पनि भनियो भने जब इजरायली सरकारका प्रवक्तालाई सोधियो, तब उनले यस्तो घटना भएको हुनसक्ने कुरालाई नकार्न नसक्ने बताए ।

त्यही बेलादेखि कलाकारहरूले प्यालेस्टिनी एकताका लागि तरबुजोको विशेषता झल्कने चित्र बनाउन थाले ।

तरबुजोको टुक्रा
सबैभन्दा प्रसिद्ध कलाकृतिमध्ये एक खालिद होरानीको हो । सन् २००७ मा उनले ‘सब्जेक्टिव एटलस अफ प्यालेस्टाइन’ नामक पुस्तकका लागि तरबुजोको टुक्रा बनाएका थिए । ‘द स्टोरी अफ द वाटरमेलन’ नामको यो पेन्टिङले विश्वभर चर्चा पायो । मे २०२१ मा इजरायल–हमास द्वन्द्वको समयमा यसले थप महत्त्व प्राप्त गर्‍यो । 

तरबुजो चित्रणमा थप बढोत्तरी यही वर्षको सुरुमा आयो । जब जनवरीमा इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गभिरले सार्वजनिक स्थानबाट प्यालेस्टिनी झण्डा हटाउन प्रहरीलाई निर्देशन दिए ।

उनले प्यालेस्टिनी झण्डा फहराउनु भनेको आतंकवादलाई समर्थन गर्नु बराबर भएको बताए । यसपछि इजरायलविरोधी मार्चहरूमा तरबुजोका तस्बिर देखिन थाले । 

इजरायली कानुनले प्यालेस्टिनी झण्डा गैरकानुनी मान्दैन, तर प्रहरी र सेनालाई त्यस्ता झन्डा हटाउने अधिकार छ, जहाँ उनीहरूलाई यसले सार्वजनिक व्यवस्थालाई खतरामा पार्छ भन्ने लाग्छ । 

यसै क्रममा गत अगस्टमा इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहुको न्यायिक सुधार योजनाको विरोध गर्न तेल अभिभमा एउटा समूहले तरबुजअंकित टीसर्ट लगाएर प्रदर्शन गरेको थियो । 

हालैका दिनमा गाजा युद्धको विरोध गर्दै सोसल मिडिया पोस्टहरूमा पनि तरबुजोका तस्बिर प्रयोग गरिएका छन् ।

प्यालेस्टाइनको समर्थनमा कलाकार 
बेलायती मुस्लिम हास्य कलाकार सुमिरुन नेस्ताले टिकटकमा तरबुजो  फिल्टर बनाए र आफ्ना फलोअर्सलाई त्यससँग भिडिओ बनाउन प्रेरित गरे। उनले यसबाट हुने आम्दानी गाजालाई सहयोग गर्ने घोषणा गरे ।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्ना अकाउन्ट वा भिडिओ सामाजिक सञ्जालबाट हटाउन सक्ने डरले प्यालेस्टिनी झण्डाको सट्टा तरबुजो पोस्ट गरिरहेका छन् । 

विगतमा प्यालेस्टिनी समर्थक प्रयोगकर्ताहरूले इन्स्टाग्रामलाई ‘छाया प्रतिबन्ध’ लगाएको आरोप लगाएका छन् । छाया प्रतिबन्ध तब हुन्छ जब सोसल मिडिया प्लेटफर्म निश्चित पोस्ट अन्य व्यक्तिको फिडमा नदेखियोस् भन्ने सुनिश्चित गर्न हस्तक्षेप गर्छन् । 

तर बीबीसी साइबर मामिला संवाददाता जो टिडी अहिले यस्तो भइरहेको छ भन्ने कुनै प्रमाण नभएको बताउँछन् । उनी भन्छन्, ‘प्यालेस्टाइन समर्थक सामग्री पोस्ट गर्ने प्रयोगकर्ताविरुद्ध छाया प्रतिबन्ध लगाउने कुनै षड्यन्त्र छ जस्तो लाग्दैन ।’

उनी थप्छन्, ‘मानिसहरूले सामाजिक सञ्जालका पोस्टमा तरबुजो प्रयोग गरिरहेका त छन्, तर उनीहरूले प्यालेस्टिनी झण्डा पनि खुलेर उपयोग गरिरहेका छन् र द्वन्द्वको बारेमा लेखिरहेका छन् ।’

यतिबेला तरबुजो यस क्षेत्रमा अविश्वसनीय रूपमा लोकप्रिय खाना मात्र होइन,  प्यालेस्टिनीहरूको पुस्ता र उनीहरूको संघर्षलाई समर्थन गर्नेहरूका लागि एक शक्तिशाली रूपक पनि बनेको छ । -बीबीसी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार