जाजरकोट भूकम्प: घाइतेको उपचारका लागि भेरी अस्पताललाई तोकियो डेडिकेटेड अस्पताल 

जाजरकोट केन्द्र भएर गएको भूकम्पका घाइतेको उपचारका लागि बाँकेमा विशेष व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले गम्भीर घाइतेको उपचारका लागि भेरी अस्पताल नेपालगन्जलाई डेडिकेटेड अस्पताल बनाएको छ ।

प्रशासन कार्यालयले अस्पतालमा सहज उपचारका लागि फोकल पर्सन पनि तोकेको छ । बिरामीका आफन्तले नरेश श्रेष्ठ (९८५११४३६६६)लाई सम्पर्क गर्न सक्नेछन् ।

यस्तै, कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ । भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ ।

अस्पतालहरूमा पर्याप्त मात्रामा चिकित्सक, नर्सिङ स्टाफ, र लजिस्टिकको प्रबन्ध मिलाइएको छ । हेलिकप्टरबाट आउने बिरामीको लागि राँझा विमानस्थल, आर्मीको हेलिप्याडमा २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ ।

रगतको मौज्दात रहेको र अपुग भएमा फ्रेस ब्लड आपूर्तिको लागि रक्तदाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार