इजरायलद्वारा युद्धविराम अस्वीकार

जेरुसेलम– इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार हमासविरुद्ध युद्धविराम गर्न स्पष्टरूपमा अस्वीकार गरेका छन् । ‘युद्धविराम गर्नु भनेको हमास र आतङ्कवादसँग आत्मसमर्पण गर्नु हो’, युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूको माग अस्वीकार गर्दै उनले भने । ‘यस्तो हुने छैन’, विदेशी पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘इजराइलले विजय नभएसम्म यो लडाइँ लडिरहने प्रतिज्ञा गरेको छ ।’ अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले आफ्नो भूमिमा आश्चर्यजनक हमला गरेपछि इजराइलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ ।

हमासले गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सय जना मारिएका थिए भने दुई सय ३० नागरिकलाई बन्धक बनाएको थियो । त्यसयता इजराइलले हमास शासित गाजाविरुद्ध ठूलो हवाई बमबारी अभियान चलायो । गाजाभित्र भने लामो समयदेखि अपेक्षित स्थल युद्ध भइरहेको थियो । सेनाले उत्तरी गाजा क्षेत्रमा इजरायली पैदल सेनाको तस्बिर जारी गरेको छ । सोमबार प्रत्यक्षदर्शीहरूले गाजाको बाहिरी भागमा ट्याङ्कहरू रहेको बताएका छन् ।

इजरायलले २४ घन्टामा छ सय लक्ष्यमा निशाना बनाएको बताएको छ । यो अहिलेसम्मको सबैभन्दा ठूलो बमबारीमध्येको एक हो । सेनाले हमासबाट हराइरहेकी एक महिलालाई बचाएको बताएको छ । प्रधानमन्त्री नेतान्याहूले युद्धले हमासलाई ‘समाप्त’ पार्ने वाचा गरेका छन्। उनका अनुसार हमास समाप्त भएपछि यस्ता समूहका हमलाहरू दोहोरिने सम्भावना हुँदैन ।

इजरायलले अक्टोबर ७ मा हमास र अन्य प्यालेस्टिनी लडाकु समूहले बन्धक बनाएका बन्धकहरूलाई मुक्त गर्ने पनि प्रतिबद्धता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घले बारम्बार मानवीय युद्धविरामको आह्वान गरेको छ । सोमबार प्यालेस्टिनी शरणार्थीका लागि राष्ट्रसङ्घीय एजेन्सी युएनआरडब्लुले इजरायलले घेराबन्दी गरेको क्षेत्रमा मानवीय सहयोग पूरा गर्न अपर्याप्त रहेको भन्दै उक्त क्षेत्रमा सीमित सङ्ख्यामा ट्रकहरू प्रवेश गरेको बताएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार