इजरायलद्वारा रफाहमा आक्रमण सुरु, शरणार्थीहरूलाई ठाउँ छाड्न आदेश

इजरायली सेनाले गाजाको रफाहमा आक्रमण सुरु गरेको घोषणा गरेको छ । इजरायली रक्षा बल अर्थात् आईडीएफले रफाहमा हमास लक्षित आक्रमण गरिरहेको बताएको हो ।

रफाहमा बसोबास गर्ने ठूलो संख्यामा शरणार्थीहरूलाई आक्रमण भइरहेको क्षेत्र छोडेर अन्य राहत शिविरमा जान भनिएको छ । इजरायलले खान युनिसनजिकै रहेको शिविरबाट एक लाख मानिसलाई बाहिर निकाल्न आदेश दिएको छ ।

इजरायलले एकातिर रफाहविरुद्ध हमला गरिरहेको छ भने अर्कातर्फ हमासको युद्धविराम सम्झौतालाई अस्वीकार गर्दै थप वार्ताका लागि कायरोमा प्रतिनिधिमण्डल पठाउने तयारी गरिरहेको बताएको छ ।

इजरायलले हमासले गरेको सम्झौता आफ्ना मागभन्दा धेरै टाढा रहेको बताएको छ । हमासले स्वीकार गर्ने प्रस्ताव इजिप्ट र कतारले मध्यस्थता गरेका थिए । यद्यपि यस युद्धविराम प्रस्तावका सर्तबारे कुनै जानकारी दिइएको छैन ।

यो सम्झौतामा इजरायली बन्दीहरूको रिहाइको बदलामा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दी रिहा गर्ने प्रस्ताव आउने सम्भावना रहेको विश्वास गरिएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलको सरकार र हमासलाई सम्झौतामा सहमत हुन ‘अतिरिक्त प्रयास’ गर्न आग्रह गरेका छन् ।

गुटेर्रेसले विज्ञप्ति जारी गर्दै रफाहमा ठूलो मात्रामा कारबाहीका संकेत चिन्ताजनक रहेको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार