२०३० को फिफा विश्वकप तीन फरक महादेशका ६ राष्ट्रमा हुने

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २०३० को फिफा विश्वकप फुटबल तीन महादेशका ६ राष्ट्रमा आयोजना गर्ने तय गरेको छ ।

फिफा विश्वकपको शताब्दी पुरा भएको अवसरमा विश्वलाई एकताबद्व र अपनत्व महसुस गराउन भन्दै ३ महादेशका ६ देशमा विश्वकप आयोजनाको तय गरेको हो ।

युरोपका स्पेन, पोर्चुगल रहँदा अफ्रिकन राष्ट्र मोरक्को अर्को आयोजक हुने छ । त्यस्तै दक्षिण अमेरीकी राष्ट्रहरु उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा विश्वकपका सुरुवाती खेलहरु आयोजना हुने छन् ।

विश्वकप सुरु भएको एक सय वर्ष पुगेको उपलक्ष्यमा दक्षिण अमेरीकी राष्ट्रमा प्रारम्भिक खेल खेलाउने तय फिफाले गरेको हो । उरुग्वेको राजधानी मोन्टेभिडियोमा १९३० मा पहिलो विश्वकप आयोजना भएको थियो । विश्वकप फुटबलको सयौं वर्षगाँठको उपलक्ष्यमा सोही सहरमा विश्वकप २०३० को पहिलो खेल आयोजना गर्न लागिएको हो ।

फिफाको यो निर्णयलाई आगामी वर्षको फिफा कंग्रेसबाट अनुमोदन गराइने छ। २०३० विश्वकप आयोजनाबारे फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने ‘विभाजित संसारमा फिफा र फुटबल एकताबद्द छ ।’ उनले भने ‘फिफा काउन्सिलले सम्पूर्ण विश्व फुटबलको प्रतिनिधित्व गर्दै सर्वसम्मतीका साथ विश्वकपको सयौं वर्षगाँठ मनाउने निर्णय गर्‍यौं । जसको पहिलो संस्करण उरुग्वेमा १९३० मा भएको थियो ।’

उनले थपे ‘सन् २०३० मा हामीसँग एक अद्वितीय विश्वब्यापि पदचिन्ह हुनेछ, तीन महादेशहरु, अफ्रिका, युरोप र दक्षिण अमेरिकाका ६ देश अर्जेन्टिना, मोरक्को, पाराग्वे, पोर्चुगल, स्पेन र उरुग्वेले फिफा विश्वकपको सयौं वर्षगाँठलाई स्वागत गर्दै यो सुन्दर खेल विश्वलाई एकताबद्ध बनाएर मनाउने छौं ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार