एकदिवसीय विश्वकप आजबाट सुरु: इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै

एकदिवसीय विश्वकप क्रिकेट बिहीबारबाट सुरु हुँदै छ । ४६ दिनसम्म चल्ने प्रतियोगिताको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेल आज दिउँसो २:१५ बजे सुरु हुने छ ।

इंग्ल्यान्ड र न्युजिल्यान्डबीच पछिल्लो पटक विश्वकप खेलका रूपमा गत संस्करणको फाइनल (२०१९) मा प्रतिस्पर्धा भएको थियो । रोमाञ्चक फाइनलमा दुबै टिमले निर्धारित ५० ओभरमा २ सय ४१ रन बनाएपछि खेल सुपर ओभरमा धकेलियो ।

जहाँ पुनस् दुबै टिमले १५/१५ रन बनाएपछि बढी बाउन्ड्री प्रहार गरेको आधारमा इंग्ल्यान्ड विजयी भएको थियो ।

हेड टु हेडमा बराबरी
इंग्ल्यान्ड र न्युजिल्यान्डबीच अहिलेसम्म ९५ एकदिवसीय खेल भएका छन्, जसमा दुवै टिमले ४४/४४ खेल जितेका छन् । ३ खेल बराबरी हुँदा ४ खेल नतिजाविहीन भएका छन् । विश्वकपमा दुबै टिमबीच अहिलेसम्म १० खेल एकअर्का विरुद्ध खेल्दा दुबै टिमले समान ५/५ जित हासिल गरेका छन् ।

विलियमसन, साउदी, स्टोक्सले पहिलो खेल गुमाउने
न्युजिल्यान्डका कप्तान केन विलियमसन पहिलो खेलमा टिममा हुने छैनन् । उनको स्थानमा विकेट किपर टोम लाथम रहने छन् । बलिङतर्फ पनि टिम साउदी टिममा रहने छैनन्। अहिलेसम्म उनी फिट छैनन् ।

दुई अनुभवी खेलाडी बिना पहिलो खेलमा उत्रिन लागेको न्युजिल्यान्ड विरुद्ध इंग्ल्यान्डका बेन स्टोक्स पनि मैदानमा हुने छैनन् । उनी हिप इन्जुरीका कारण आफ्नो पहिलो खेल गुमाउन लागेका हुन् ।

इंग्ल्यान्डले आफ्ना पछिल्ला ५ मध्ये ४ खेलमा जित निकालेको छ । आफ्नो घरेलु मैदानमा पछिल्लो समय न्युजिल्यान्ड विरुद्धकै ४ खेलको एकदिवसीय सिरिज जितेकाले इंग्ल्यान्ड आत्मविश्वासी रहेको छ ।

न्युजिल्यान्डले पछिल्लो ५ मध्ये २ मात्र एकदिवसीय खेल जितेको छ । उसले ३ खेल हारेको छ, त्यसैले इंग्ल्यान्ड विरुद्ध लय समाउँदै विश्वकपका राम्रो सुरुवात गर्नु पर्ने चुनौती न्युजिल्यान्डलाई रहेको छ ।

वर्षाको सम्भावना कति ?
पछिल्लो समय अभ्यास खेलहरू वर्षाले प्रभावित बनाए पनि यो खेलमा वर्षाको सम्भावना नरहेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ । अहमदाबादमा घाम लाग्ने छ भने वर्षाको सम्भाना नरहेको उसले जनाएको छ ।

कस्तो छ पिच ?
यो मैदानमा पहिले टस जित्ने टिमले फिल्डिङ रोज्ने सम्भावना बलियो हुने छ । किनकि साँझमा तीव्र बलरलाई मद्दत मिल्न सक्ने पिच छ । नयाँ स्टेडियम बनेपछि यो मैदानमा भएका तीन एकदिवसीय खेलमा पहिले ब्याटिङ गर्ने टिमले एक र पछि ब्याटिङ गर्ने टिमले २ खेल जितेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार