च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटीको लगातार दोस्रो जित

वैकल्पिक खेलाडी जुलियन अल्भारेज र जेरेमी डोकुको गोलमा म्यानचेष्टर सिटीले च्याम्पियन्स लिगमा लगातार दोस्रो जित निकालेको छ।

बुधबार राति भएको खेलमा सिटीले आरबी लाइपजिगमाथि ३–१ को जित निकालेको हो । सिटीका लागि फिल फोडेन, अल्भारजेर र डोकुले गोल गरेर लाइपजिगका लागि ओपेन्डाले गोल फर्काएपनि पर्याप्त हुन सकेन ।

काराबाओ कपमा न्युक्यासल र प्रिमियर लिगमा वुल्भ्ससँग पराजित भएपछि खेलमा आएको साविक विजेता सिटीले खेलको पहिलो हाफमा पुर्णतया नियन्त्रण जमाएको थियो ।

पहिलो हाफको २५ औं मिनेटमा रिको लुइसको पासमा फोडेनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । घरेलु टोली लाइपजिगले आफ्नो एकमात्र सटमा गोल गर्न सफल भयो । लुइस ओपान्डाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

तर वैकल्पिक खेलाडीको रुपमा मैदान पसेको पाँच मिनेटमा नै अल्भारेजले डोकुको पासमा उत्कृष्ट गोल गर्दै सिटीलाई पुन अग्रता दिलाए ।

इन्ज्युरी समयमा डोकुले गोल गर्दै सिटीलाई ३–१ को अवस्थामा ल्याए । जितसँगै समुह जी मा रहेको सिटी ६ अंकमा शीर्ष स्थानमा छ । पराजित लाइपजिग ३ अंकमा दोस्रो स्थानमा छ ।

गएराति नै भएको यही समुहको अर्को खेलमा योङ ब्वाइज र रेड स्टार वेलग्रेडले २–२ को बराबरी गर्दै अंक बाँडे । योङ ब्वाइज तेस्रो र रेड स्टार तालिकाको पुछारमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार