आत्मघाती गोलको कारण रियल मड्रिड हारबाट जोगियो

नापोलीका गोलरक्षक एलेक्स मेरेटको आत्मघाती गोलमा रियल मड्रिड हारबाट जोगिएको छ ।

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा रियल मड्रिडले नापोलीमाथि संर्घषपूर्ण जित निकालेको छ ।

नापोलीको घरेलु मैदान डियगो अर्मान्डो म्यारोडोनामा भएको खेलमा रियलले ३–२ को कठिन जित निकालेको हो ।

खेलको १९ औं मिनेटमा डिफेन्डर लियो ओस्टिगार्डको गोलमा नापोलीले घरेलु मैदानमा सुरुवाती अग्रता बनाएको थियो ।

तर खेलको २७ औं मिनेटमा नातानको प्रहार क्रसबारमा लाग्दै फर्किएपछि भिनिसियस जुनियरले गोल गर्दै रियललाई बराबरीमा ल्याएका थिए । खेलको ३४ औं मिनेटमा बेलिङघमले गोल गदै रियललाई २–१ को अग्रता दिलाए ।

पहिलो हाफमा पछि परेको घरेलु टोली नापोलीले खेलको ५४ औं मिनेटमा पिओटर जिलिन्स्कीले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

खेलको ७८ औं मिनेटमा गोलरक्षक एलेक्स मेरेटको आत्मघाती गोलमा रियलले पुनः अग्रता बनाउने मौका पायो। फेडेरिको भाल्भर्डको कडा प्रहार क्रसबारमा लाग्दै बाहिर निस्कदा गोलरक्षक मेरेटको पछिबाट गोलपोष्टमा छिरेको थियो ।

समूह सी मा रहेको रियलले आफ्नो पहिलो खेलमा युनियन बर्लिनलाई १–० ले पराजित गरेको छ। दुई खेलबाट ६ अंकमा शीर्ष स्थानमा छ ।

च्याम्पियन्स लिगमा घरेलु मैदानमा १४ खेलमा अपराजित रहेको नापोली गत महिला पोर्चुगिज टोलीलाई २–१ ले हराएपछि दोस्रो स्थानमा छ ।

यसअघि गएराति नै भएको खेलमा स्पोर्टिङ ब्रागाले युनियन बर्लिनलाई ३–२ ले हराउँदै तेस्रो स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार