क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित, एसियाड यात्रा समाप्त

भारतसँग २३ रनले हारेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको १९औं एसियन गेम्सअन्तर्गत टी-२० क्रिकेटको सेमिफाइनल खेल्ने सपना अधुरै रहेको छ ।

मंगलबार बिहान चीनमा भएको खेलमा भारतले दिएको २ सय ३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन मात्र बनाउन सक्यो । उक्त हारसँगै नेपालले क्रिकेटबाट पदक जित्ने सम्भावना पनि सकिएको छ ।

समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टरफाइनलसम्म पुगेको नेपाली टोलीले मध्यम प्रदर्शन गर्दा अन्तिम चारमा पुग्ने सपना अधुरै रह्यो । करण केसी १८ र अविनास बोहोरा शुन्य रनमा नटआउट रहे । करणले १३ बलमा २ छक्का र १ चौका हाने ।

पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले २९ रनको साझेदारी गरे । १० रन बनाएका आशिफ ३।४ ओभरमा अभेष खानको बलमा विकेट किपरको हातबाट क्याच आउट भए ।

अर्का ओपनर कुशल भुर्तेल २८ रनमा पवेलियन फर्के। भुर्तेल ८.५ ओभरमा साइ किशोरको बलमा आवेश खानको हातबाट क्याच आउट भए । ३२ बलको सामना गरेका भुर्तेलले ४ चौका र १ छक्का हाने । कुशल मल्ल २९ रनमा क्याच आउट भए । २२ बलको सामना गरेका कुशल मल्लले २ चौका र २ छक्का हाने ।

११औं ओभरको चौथो बलमा मल्ललाई गुमाएको नेपालले त्यही ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेललाई पनि गुमायो। ५ बलमा ३ रन बनाएका कप्तान रोहित रवि विश्नोइको बलमा एलबीडब्लु धरापमा परे ।

१५औं ओभरको दोस्रो बलमा नेपालले अलराउन्डर दीपेन्द्रसिंह ऐरिलाई गुमायो । १५ बलमा ४ चौका सहित ३२ रन बनाएका दीपेन्द्र रवि विश्नोइको बलमा साइ किशोरको हातबाट क्याच आउट भए ।

नेपालले छैटौं विकेटका रुपमा सन्दीप जोरालाई गुमाएको हो । १२ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २९ रन बनाएका सन्दीप क्याच आउट भए । सोमपाल कामी ७, गुलसन झा ६, सन्दीप लामिछाने ५ रनमा क्याच आउट भए ।

त्यसअघि झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रनको योगफल तयार पारेको थियो ।

भारतका शिवम दुबे २५ र रिंकु सिंह ३५ रनमा नटआउट रहे । दुवेले १९ बलमा २ चौका र १ छक्का हाने । १४ बलको सामना गरेका सिंहले २ चौका र ४ छक्का हान्दै ३५ रनमा नटआउट रहे ।

ओपनर यशस्वी जैसवाल र कप्तान ऋतुराज गायकवाडले ९.५ ओभरमा १ सय ३ रनको साझेदारी गर्दै भारतलाई आक्रामक सुरुवात दिलाएका थिए ।

नेपालविरुद्ध आक्रामक ब्याटिङ गरेका जैसवाल १ सय रनमा क्याचआउट भए । जैसवालले ४८ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै नेपालविरुद्ध शतक हानेका थिए ।

विकेटका लागि संर्घष गरिरहेको नेपालका लागि अलराउन्डर दीपेन्द्र सिंह ऐरीले पहिलो सफलता दिलाएका थिए । दीपेन्द्रले दसौँ ओभरको अन्तिम बलमा ओपनर तथा कप्तान ऋतुराज गायकवाडलाई २५ रनमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट गराउँदै साझेदारी तोडेका थिए ।

१२औं ओभरको चौथो बलमा सोमपाल कामीले तिलक बमलाई २ रनमा बोल्ड आउट गरे । १३औं ओभरको अन्तिम बलमा लेग स्पिनर सन्दीप लामिछानेले ५ रन बनाएका जितेश शर्मालाई कट एण्ड बोल्ड आउट गर्दै पवेलियनको बाटो देखाए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान १/१ विकेट लिए ।

नेपाल र भारत टी-२० आईमा पहिलोपटक आमनेसामने भएका थिए । एसियाडमा भारतले सिधै क्वार्टरफाइनलमा स्थान बनाउँदा नेपाल भने समूह एको विजेता बन्दै अन्तिम ८ मा पुगेको थियो ।

नेपालले समूह चरणको पहिलो खेलमा मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित हासिल गरेको थियो। दोस्रो खेलमा नेपालले मालदिभ्सलाई १ सय ३८ रनले हराएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार