नेपालले पायो २०३ रनको लक्ष्य

चीनको हाङजाओमा जारी १९औं एसियन गेम्सअन्तर्गत टी-२० क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा भारतविरुद्ध जितका लागि नेपालले २ सय ३ रनको लक्ष्य पाएको छ ।

झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय रनको योगफल तयार पारेको हो ।

भारतबाट शतक बनाएका यशस्वी ४९ बलमा आठ चौका र सात छक्कासहित १०० रन बनाएर आउट भए । ट्वान्टी–२० क्रिकेटमा यशस्वीको यो नै अहिलेसम्मको उच्च स्कोर हो । 

यशस्वीले पहिलो विकेटका लागि कप्तान रितुराज गाइकवाडसँग ९.५ ओभरमा १०३ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर, यसपछिका ब्याटरबीच साझेदारी बन्न नसक्दा भारत विशाल योगफलसम्म पुग्न सकेन ।

कप्तान गाइकवाडले २५ रन बनाए । रिंकु सिंहले ३७ र सिवम दुवे २५ रनमा अविजित रहे । यी दुईले पाँचौ विकेटका लागि ५२ रनको साझेदारी गर्दै भारतलाई बलियो योगफलसम्म पुर्याएका हुन् । 

नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले ३१ रन खर्चिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।

नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो । नेपालले समूह चरणका खेलमा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराएको थियो ।

भारतले भने आईसीसीको वरीयताअनुसार सोझै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार